साउन २३
बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु गरेको छैन । ११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौताअनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रोपटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले लिएको हो । फेरि म्याद थप हुँदा पनि काम सुरु नभएपछि आयोजनाका जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधिएको छ ।
नारायणगढ सडक आयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इञ्जिनियर आशीष थापालाई गत शुक्रबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका छन । उनका अनुसार राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैँडाकोटमा छड्के जाँचमा जाँदा कार्यालयमा पालेबाहेक कोही भेटिएका थिएनन।
पोखरेलले कार्यालय प्रमुख, इञ्जिनियरलगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको बताएका छन । राजमार्गमा जताततै ठूलाठूला खाल्डा परेका छन् । सडक पानी पर्दा हिलैहिलो र घाम लाग्दा धुलैधुलो हुन्छ । एक दिन पानी परेन भने राजमार्ग धुलोले हिँडनै नसकिने हुन्छ । खासगरी देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका भित्रको सडक क्षेत्रको दुर्दशा छ । दाउन्नेदेखि पूर्व चोरमारासम्मको क्षेत्रमा हिँड्नै नसकिने अवस्था रहेको छ ।