साउन २१
बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि जिल्ला प्रशासन कार्यालयले आयोजनाको जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधेको छ ।
बुटवल–नारायणगढ सडक आयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इन्जिनियर आशिष थापालाई गत शुक्रबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
’राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि यो सडक हेर्ने सरकारी कार्यालय बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैंडाकोटमा छड्के जाँचमा जाँदा कार्यालयमा पालेबाहेक कोही भेटिएनन् । सबै काठमाडौं गएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ’सडक निर्माणको काम हेर्ने आयोजना प्रमुखसहित कर्मचारी कोही पनि नभएपछि ठेकेदारले किन काम गर्थ्यो र ?’
पोखरेलले कार्यालय प्रमुख, इन्जिनियर लगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको बताए । चिनियाँ ठेकेदारले निर्माण गर्ने बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेदेखि गैंडाकोट क्षेत्रको सडक यही कार्यालयले हेर्न गर्छ ।
’त्यहाँ गार्डबाहेक कोही भेटिएन । यता राजमार्गमा कहीँ कतै काम गरेको देखिँदैन । चाडाबाड सुरु हुन लाग्यो राजमार्गको यस्तो बिजोग छ,’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ’राजमार्गमा काम नगर्नुको कारण के हो भनेर स्पष्टीकरण सोधेको छु ।’
राजमार्गमा जताततै ठूलाठूला खाल्डा परेका छन् । सडक पानी पर्दा हिलैहिलो र घाम लाग्दा धुलौधुलो हुन्छ । एक दिन पानी परेन भने राजमार्ग धुलोले हिँडनै नसकिने हुन्छ । खासगरी देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिकका र विनयी त्रिवेणी गाउँपालिका भित्रको सडक क्षेत्रको दुर्दशा छ । दाउन्नेदेखि पूर्व चोरमारासम्मको क्षेत्रमा हिँडनै नसकिने अवस्था छ ।
११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौता अनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रो पटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।
ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियर कर्पोरेसनले एकाएक काम रोकेको हो । उसले वर्षाको कारण देखाउँदै काम रोकेको हो ।
ठेकेदारले वर्षाको कारण तेर्सायाउँदै कात्तिक १५ पछि काम थाल्ने प्रस्ताव गरेको छ । जिल्ला प्रशासनले खाल्डाखुल्डी पुर्न, रोलर लगाएर सम्याउन र पहाडी क्षेत्रमा (दाउन्ने र थुम्सी) पर्खालको काम फटाफट गर्न निर्देशन दिएको छ ।