चैत २८
हिमाचलको मनाली–लेह लद्दाख राजमार्गमा निर्माण गरिएको ‘अटल टनेल’ मनाली घुम्न आउने पर्यटकका लागि थप आकर्षणको केन्द्र बनेको छ । भारत सरकारले १० हजार फिटको उचाइमा हिमाललाई छेडेर ९ किलोमिटर सुरुङसहितको राजमार्ग बनाएको छ ।
उद्घाटन भएको डेढ वर्षको अवधिमा १७ लाख आन्तरिक पर्यटकले सुरुङ घुमेका छन् । सार्वजनिक यातायात प्रयोजनका लागि बनाइएको विश्वकै लामोमध्येको सुरुङ मार्गका रुपमा अटल टनेल चिनिएको छ । सुरुङको निर्माणले हिमाचलबाट केन्द्र शासित लेह लद्दाख प्रदेशको दूरी ४६ किलोमिटरले घटेको छ ।



अटल टनेल निर्माणपछि यसको लाभ मनालीमा बस्ने नेपालीहरुले पनि उत्तिकै पाएका छन् । सुरुङ हेर्ने तथा सुरुङ कटेर हिमाली क्षेत्रमा घुम्ने पर्यटकलाई विभिन्न सेवा दिने व्यवसाय नेपालीहरूले पनि सञ्चालन गरेका छन् ।
सिन्धुपाल्चोकका संगील शेर्पाले सुरुङ नपुग्दै बाटो छेउमा चलाएको होटलमा खाना खान आगन्तुकहरूले पालो नै कुर्नुपर्ने हुन्छ । सुरुङको निर्माणमा सयौं नेपाली मजदुरहरु पनि खटिएका थिए । त्यस क्रममा केहीले त ज्यानसमेत गुमाएको शेर्पा बताउँछन् । पर्यटन व्यवसायमा लागेका रुकुमका राजेन्द्र थापा मगरका अनुसार उक्त सुरुङ निर्माणपछि नेपाली व्यवसायीहरूको पनि आम्दानी बढ्न थालेको छ ।
अटल सुरुङको निर्माण १० वर्षमा पूरा भएको हो । तात्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीले सन् २००२ मा यस परियोजनाको प्रारम्भ गरे पनि सन् २०१० बाट मात्रै काम प्रारम्भ भएको थियो । तर निर्माणको गति भने नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि मात्रै बढेको हो । प्रधानमन्त्री मोदीले ३ अक्टोबर २०२० मा सुरुङको उद्घाटन गरेका थिए ।
अटल सुरुङको प्रवेश मनालीभन्दा २५ किलोमिटर माथि ३ हजार ६० मिटरको उचाइमा छ । सुरुङको चौडाइ १०.५ मिटर छ । त्यसमा दुवैतिर १÷१ मिटरको फुटपाथ रहेको छ ।
प्रत्येक ६० मिटरको दूरीमा सीसीटभी र अग्नि नियन्त्रक यन्त्र राखिएको छ । बत्तीको उचित प्रबन्ध छ । ८० किमि प्रति घण्टामा सवारी कुदाउन सकिन्छ । हिउँदमा माइनस २३ डिग्री तापक्रममा पनि प्राविधिकहरुले निर्माणको काम गरेका थिए ।
भारतको सीमा सडक संगठन (बीआरओ) अन्तर्गत परिचालन भएर भारत र अस्ट्रियाको कम्पनी स्ट्राबेग तथा एफकानले सुरुङ निर्माण गरेका हुन् । सुरुङ निर्माणमा ३५ सय करोड भारतीय रुपैयाँ खर्च भएको बताइन्छ ।
सामरिक रुपमा भारतीय सेनाका लागि पनि उक्त सुरुङ मार्ग महत्वपूर्ण मानिएको छ । सेनालाई लेह लद्दाखको चीनसँगको सीमामा पुग्न यसले सहज बनाउँछ । हिमपातमा पनि राजमार्ग सुचारु रहने भएपछि सैन्य सामाग्री पु¥याउन यसले सजिलो बनाएको छ ।



