चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीका ठेकेदारले नियमित पानी नहाल्दा दाउन्ने क्षेत्रमा धूलोले सास्ती, दिउँसै अँध्यारो

२०८० चैत्र २७, मंगलवार
पढ्ने समय : 3 मिनेट

चैत २७
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने खण्ड पार गर्न हिजोआज यात्रुले निकै कष्ट खेप्नु परिरहेको छ । नारायणगढ–बुटवल खण्ड विस्तार गर्न भत्काइएको सडक समयमै नबन्दा यहाँको १४ किलोमिटर दूरी पार गर्न ३ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

सडकमा २ फिटसम्म धूलो थुप्रिएको छ । बाटो छोप्ने गरी उड्ने धूलोका कारण सवारी आवागमनमा बाधा पर्दा दुर्घटनाको जोखिम उस्तै छ । तैपनि दिउँसै हेड लाइट बालेर हर्न बजाउँदै गाडीहरू गुड्न बाध्य छन।
आफू आइरहेको अर्को चालकलाई जनाउ दिन पनि हर्न बजाउने र इमर्जेन्सी लाइट बालेर हिँड्नु परिरहेको कपिलवस्तुबाट काठमाडौं जाँदै गरेका कार चालक जोतेन्द्रमोहन चौहानले बताए । राजमार्गको यस खण्डमा अधिकांश ठाउँमा ट्राफिक संकेतसमेत छैनन । दुईपांग्रे सवारीसाधन त धूलोभित्रै हराउँछन् भने सवार गर्नेमा धूलोका कारण घाँटी दुख्ने र खोकी लाग्ने समस्या देखिने गरेको छ ।

गाडीले उडाउने धूलोका कारण सडक आसपासका होटल तथा रेस्टुरेन्ट चल्नै छाडेको दाउन्नेका होटल व्यवसायी पुरन गिरीले दुखेसो पोखे । यात्रा सहज हुँदा दाउन्ने खण्ड धेरैको खाना र खाजा खाने मुख्य गन्तव्य हुने गर्थ्यो । ‘करिब ५ वर्षदेखि हामी धूलोको समस्या भोगिरहेका छौं,’ उनले भने, ‘सकेसम्म यस खण्डमा चालकले गाडी रोक्न नपरे हुन्थ्यो भन्छन । धूलो र ट्राफिक जामका कारण चालक र यात्रु दाउन्ने कटिहाल्न पाए हुन्थ्यो भन्ने ध्याउन्नमा हुन्छन ।’

दाउन्नेमा ६० भन्दा बढी होटल तथा रेस्टुरेन्ट छन । धूलोबाट जोगिन अधिकांशले होटललाई त्रिपालले ढाकेका छन । यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन । धूलोले नदेखिएर मालवाहक गाडी खाल्डोमा फस्दा दिनहुँ घण्टौं ट्राफिक जाम हुने गरेको छ । अत्यधिक धूलोका कारण राजमार्गमा ट्राफिक प्रहरी पनि खटिन चाहँदैनन ।

सडक विस्तारको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीका ठेकेदारले धूलो नउडोस् भनी नियमित पानी हाल्नुपर्नेमा त्यसो गरेका छैनन । दाउन्ने बजारदेखि बर्दघाटतर्फ ७ र पूर्वी दुम्कीवासतर्फ ७ किमिमा पानी नहाल्दा यो राजमार्ग हिँडिसाध्यै छैन । दाउन्नेदेखि पूर्वी चोरमारासम्मको २२ किमि खण्डमा सडक भत्काएपछि सवारी अस्तव्यस्त बनेको हो । यो खण्ड पार गर्नै झन्डै ४ घण्टा लाग्ने गरेको छ । देशकै व्यस्त मानिने यस सडक खण्डमा दैनिक यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परिरहेको छ । कुल १ सय १३ किमि सडक खण्डको विस्तार थालिएको हो ।

दाउन्ने खण्डमा दैनिक तीन पटक पानी हाल्ने गरिएको आयोजना निर्देशनालय (एडीबी) का आयोजनाका प्रमुख चूडाराज ढकालको दाबी छ । ‘यो खण्डमा धूलोले गर्दा धेरै समस्या छ, १४ किमि खण्डमा १ सय १२ वटा कर्ल्भट निर्माण गरिँदै छ,’ उनले भने, ‘पहिल्यै ८÷१० वटाका दरले कर्ल्भट बनाउन सकेको भए यस्तो समस्या हुने थिएन, पहिला अन्त काम गरेर यो खण्डमा थाल्दा समस्या भएको हो ।’ दाउन्ने खण्डको धूले सडकमा पानी हाल्ने मान्छे, यातायात सहज गर्नका लागि ट्राफिक प्रहरी राख्ने कुरामा ठेकेदारले ध्यान दिनुपर्ने उनले बताए । ‘यो खण्डमा एकदमै समस्या छ, पानी हाले पनि घामले एक घण्टामा सुकिहाल्छ, त्यसका लागि पानी हाल्ने समय बढाउन भनेका छौं,’ उनले भने, ‘सवारी चाप अत्यधिक हुने यो खण्डमा काम गर्न पनि उस्तै गाह्रो छ ।’

यस सडक खण्डको निर्माण प्रगति कम हुँदा २०७९ असोज पहिलो साता सूचना निकालेरै ठेक्का तोड्ने चेतावनी दिइएको थियो । तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको हो । काममा उचित प्रगति नभए पनि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपिएको हो । तर थपिएको म्याद पनि ३ महिना मात्रै बाँकी रहँदा आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भएको आयोजना बताउँछ । जबकि बाँकी काम ३ महिनाभित्र सक्ने सम्भावना भने देखिँदैन ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यस सडक खण्ड स्तरोन्नतिको ठेक्का लागेको हो । २०७५ पुस ५ मा सुरु भएको ठेक्काअनुसार २०७९ साउन २२ भित्र काम सकिसक्नुपर्ने थियो । निर्माण सुरु भएको ५ वर्ष बित्दा पनि निर्माण प्रगति भने सन्तोषजनक छैन । सम्झौताअनुसार यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । ‘२०८१ असारसम्मको म्याद छ, उक्त अवधिभित्र काम सकिने देखिँदैन,’

ढकालले भने, ‘कसरी म्याद थप गर्ने भनेर अन्योल भएको छ, म्याद नथपौं सडकको हालत यस्तो छ, थपौं काममा उल्लेख्य प्रगति छैन, यसबारे के गर्ने भनेर छलफल भइरहेको छ, निर्णय भइसकेको छैन ।’ यस सडक खण्ड भएर ओहोरदोहोर गर्ने सवारी चाप उच्च रहेको र हालको ठेक्का तोडेर नयाँ ठेक्कामा जान समय लाग्ने भएकाले कसरी हुन्छ छिटो काम सक्न अहिलेकै ठेकेदारलाई दबाब दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय