चैत २२
साझा यातायात ले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका बसहरुको चीनका सडकमा परीक्षण सुरु भएको छ ।
साझा यातायात ले आफ्नो ट्वीटर एकाउन्ट मा राखेको भिडियो अनुसार चीनको उकालो सडकमा बिजली बसको परीक्षण भइरहेको छ।
भिडियोमा चीनको नानजिंग शहरमा साझा यातायातको लागि तयार भएको बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरिरहेको देखिन्छ ।



पहिलो चरणमा साझाले तीन वटा बिजुली बस काठमाडौं ल्याउने तयारी गरेको छ । चीनको नानजिंग स्थित सीएचपीसी कम्पनीको विद्युतीय बसको कारखाना मा ती बस तयार भइसकेका छन् ।
ती बस काठमाडौं आइपुगेपछि उपत्यका का सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझाले जानकारी दिएको छ। ।
सीचएपीसीका बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसी सँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो ।
साझा ले ४० वटा बसमा ६१ करोड खर्चिंदै छ । पहिलो चरणमा ९ मिटर लामो बस किन्न लागिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।
अब २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आउनेछन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।
बस बिक्रेता कम्पनीले चार्ज सहित ५ वर्षको सबैखालको मर्मतको सुविधा पनि दिनुपर्ने गरी खरिद सम्झौता भएको छ ।
सरकारले २०७५ पुस ९ गते ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।
स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि २०७६ माघ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।
तर, २०७७ माघ मा सरकार ले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।
सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७१ वटा ठूला बस छन् ।



