दैनिक डेढ सय नेपाली र चिनियाँ प्राविधिक सिद्धबाबा सुरुङ मार्ग मा खटिए

२०८० फाल्गुन २१, सोमबार
पढ्ने समय : 2 मिनेट

फागुन २१

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकैबाट अति जोखिमको खण्डमा अहिले सुरुङ निर्माण भइरहेको छ । दुई महिनामा करिब ३५ मिटर सुरुङ खनिएको छ ।

तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउँपालिका– ३ मा १.१२६ किलोमिटर लम्बाइको सुरुङ मार्ग निर्माण चालू छ । कुनै विघ्न बाधा र अवरोध नभए र यही गतिमा काम अगाडि बढे अबको ४ वर्षमा सिद्धबाबा सुरुङ मार्ग तयार हुने आयोजनाको दाबी छ ।

वि.सं.२०७९ देखि निर्माण थालिए पनि पछिल्लो ६ महिनायता यसको कामले गति लिएको छ । ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा बन्ने सुरुङ मार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो । दुई महिनादेखि रातको समयमा सिद्धार्थ राजमार्गमा गाडीको आवागमन बन्द गरेर काम अघि बढाइएको छ ।

हालसम्म सिद्धबाबा मन्दिर साइटतर्फ मात्रै करिब ३५ मिटर सुरुङ खनिएको छ । अर्कोतर्फको साइटमा सुरुङ परिसरलाई व्यवस्थित बनाउने काम सकिएपछि अर्को सातादेखि खन्ने काम सुरु हुने आयोजनाले जनाएको छ । सुरुङसँगै तीन ठाउँमा आपतकालीन मार्गसमेत खनिएको छ ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म १७ प्रतिशत भौतिक प्रगति भएको र कामले रफ्तार लिएको बताइन् । उपकरण, कामदार, साइट क्लियरदेखि बजेटसम्मको सबै प्रबन्ध ठीकठाक चलिरहेको उनको भनाइ छ ।

कार्यस्थलमा खटिएका साइट इन्जिनियर रितेश पौडेल र सिनियर सर्भेयर मोहन बोहोरासहितको प्राविधिक टोली सुरुङ निर्माणस्थलमा नियमित खटिएको छ । उनीहरुका अनुसार त्यहाँ चिनियाँमात्रै ३५ जना इन्जिनियर खटिएका छन् । त्यस्तै १०० जना नेपाली प्राविधिकले नियमित काम गरिरहेका छन् ।

अहिले सुरुङको दक्षिणी मोहोडामा धमाधम काम भइरहेको छ । उत्तरी मोहोडामा सुरुङ माथिको जमिनलाई बलियो बनाउने काम भइरहेको छ । अग्लो चट्टानी भीर क्षेत्रमा रकनेट जाली लगाउने र सिमेन्टेड गरेर सुरुङ माथिको क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको इन्जिनियर पौडेलले बताए ।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङ मार्ग निर्माण आयोजना कार्यान्वयनमा आएको थियो । सुरुङ मार्ग बनेपछि र बाँकी खण्ड पनि फराकिलो भएपछि यस खण्डमा ढुक्कसँग हिँडडुल गर्न सकिने स्थानीयको विश्वास छ ।

जुनसुकै बेलामा पहिरो जाने जोखिम रहेको यो खण्डको यात्रामा हुने त्रास अब कम हुने आशा लिइएको पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ । उनले तराई र पहाडलाई जोड्ने महत्वपूर्ण मार्गको जोखिमपूर्ण खण्डलाई व्यवस्थित बनाउँदा तराई र पहाड दुबैतिरका बासिन्दालाई उत्तिकै लाभ पुग्ने विश्वास व्यक्त गरे ।

 

बुटवलदेखि पाल्पा जोड्ने गरी बनेको सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमको खण्ड हो यो । सडक बनेको ६२ वर्षपछि अहिले बल्ल यहाँ सुरुङ निर्माण अघि बढेको छ ।

बुटवल–पाल्पा सडक वि.सं.२०१८ सालदेखि खन्न सुरु भएको थियो । त्यसबेला विभिन्न पहाडी जिल्लाका नागरिकहरुले श्रमदान गरेका थिए । वि.सं.२०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको यो सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा गाडी गुड्छन् । यसलाई तराई र पहाडलाई जोड्ने लाइफलाइन खण्ड मानिए पनि अहिले बेलबास र देवदहतिरबाट बाइपास सडक निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय