प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी ले उद्घाटन गरेपछि शनिबार देखि जनकपुरमा रेल चल्ने

२०७८ चैत्र १६, बुधबार
पढ्ने समय : 2 मिनेट

चैत १६
निर्माण सम्पन्न भएको लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सेवाको उद्घाटन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको प्रमुख आथित्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए ।

रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेश मार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । विसं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।
मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन । सरकारले सबै कर सहित एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए ।

जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई ७० र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ । यस्तै रेल दुर्घटना परी कोही कसैको ज्यान गएको खण्डमा सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ ।

गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय