साउन २७
भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् ।



बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ ।
उनले नेपालबाट आयात हुने गोलभेंडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् । तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेंडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ ।
मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालबाट गोलभेंडा लैजानेबारे कुनै औपचारिक जानकारी नभएको दाबी गरे । भारतको प्लान्ट क्वरेन्टिन लिष्टमा नेपाली गोलभेंडा परेको भन्ने मात्रै जानकारी आएको उनले बताए । ‘भारतको प्लान्ट क्वरिन्टिन लिष्टमा नेपाली गोलभेंडा परेपछि अब भारतको आयात प्रतिबन्ध हट्यो,’ सचिव मरासीनिले भने, ‘तर, औपचारीक रुपमा कसरी ती वस्तु आयात गर्ने भन्नेबारे भारतले केही भनेको जानकारीमा छैन ।’
भारतमा कम वर्षातका कारण उत्पादनमा ह्रास आएपछि गोलभेंडाको मूल्य आकाशिएको छ । बिहीबार मात्रै देशका विभिन्न भागमा गोलभेंडाको मूल्य प्रतिकिलो २५० रुपैयाँ भारु पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
गोलभेंडाको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेपछि भारतको लोकसभामा यसबारे प्रश्न उठेको थियो ।
भारतले गोलभेंडा आयातको अनुमति खुला गरे पनि त्यसलाई कोटा तोकर लाइसेन्सको व्यवस्था गरेको छ । भारतको राज्य सरकारबाट अनुमति प्राप्त गरेपछि ती व्यवसायीले नेपालबाट गोलभेंडा आयात गर्न पाउने व्यवस्था रहेको सीमा नाकाका भन्सार कार्यालयहरुले जनाएका छन् ।
भैरहवाको बेलहिया नाकाबाट गोलभेंडा लैजान केही व्यापारीहरुले चासो दिएका छन् । भन्सारमा भारत सरकारले दिएको ४ महिनाको पास लिएर केही व्यापारी आएको भैरहवा भन्सार प्रमुख मनिराम पौडेलले बताए । भारतले नवम्बर सम्म गोलभेंडा आयातका लागि लाइसेन्स दिए पछि उनीहरुले आयात प्रक्रिया थालेको पौडेलले जानकारी दिए ।
काठमाडौं र चितवनमा गोलभेंडा उत्पादन गर्ने कृषि व्यवसायी सामर्थ ढुंगानाकाअनुसार भारतले नेपालबाट गोलभेंडा लैजान सुरु गरेको छ । पहाड र उपत्यकाका कृषकले नेपाल भारत सीमाको बजारसम्म व्यापारीलाई गोलभेंडा उपलब्ध गराउने र उनीहरुले भारतीय व्यापारीलाइ गोलभेंडा बेच्ने गरेको उनले बताए । भर्खरै कारोबार सुरु भएकाले मूल्य भने खुलाउन नमिल्ने उनको भनाइ छ ।
अहिले नेपालगञ्ज नाका भएर प्युठानको गोलभेंडा भारततर्फ निर्यात भएको पनि उनले बताए । यस्तै कैलाली र कञ्चनपुरका विभिन्न नाकाबाट पनि गोलभेंडा भारत निर्यात हुन थालेको उनको भनाइ छ । गोलभेंडा उत्पादन घट्दै गएपछि अहिले नेपालमा पनि उपभोक्ता मूल्य उच्च भएको छ ।



