सिद्धबाबा सुरुङमार्ग पनि नारायणगढ–बुटवल सडक विस्तार गरिरहेको ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले बनाउने

२०७८ माघ २४, सोमबार
पढ्ने समय : 2 मिनेट

माघ २४
भैरहवा
, सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबामा सुरुङमार्ग ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ले नै बनाउने भएको छ। यो अहिले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी हो।
सडक विभाग स्रोतका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणाका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ । यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा गरेका ४ कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो ।

विभिन्न कारण देखाउँदै कम्पनीले काममा ढिलाइ गर्दा नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना रुग्ण अवस्थामा पुगेको छ । यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको काम पनि जिम्मा पाएको छ ।

सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ ।

तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी छ ।

यो ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङको निकटतम् चीनकै प्रतिद्वन्द्वी कोभेक–सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख रुपैयाँ कबोल गरेको छ । चीनकै सीसीईसीसी सीआरसीसी १४ सियुआन जेभीले ९ अर्ब ८० करोड १६ लाख रुपैयाँ कबोल गरेको छ । चाइना फर्स्ट हाईवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ कबोल गरेको छ ।

ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले चाइना स्टेट इन्जिनियरिङलाई नै ठेक्का दिने स्वीकृतिका लागि आयोजनाले सडक विभागसमक्ष सिफारिस गरेको छ । तर, विभागले यसबारे अन्तिम निर्णय गरिसकेको छैन ।

२०७७ मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ को बजेट सहमति प्रदान गर्ने निर्णय गरेको थियो । सडक विभागले २०७८ जेठ, ९ गते ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आहृवान गरेको थियो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आहृवान भएको थियो । यो सुरुङमार्ग १.१२६ किलोमिटरको सुरुङ हुनेछ । सुरुङमार्गको सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटरको रकनेट (जाली) राखिनेछ । करिब ५ वर्षमा यो सुरूङमार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

सिद्धबाबा खण्डको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्याधिक जोखिमयुक्त क्षेत्रमा पर्छ । हरेक वर्ष वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा जनधनको क्षति हुने गरेको छ ।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ हुँदै म्याग्दीसम्म गाडी चल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय