चिनियाँ नयाँ वर्षका कारण रसुवागढी बाट आयात नहुने

२०७८ माघ १९, बुधबार
पढ्ने समय : 2 मिनेट

माघ १९
भैरहवा
चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट सामान आयात नहुने भएको छ । सोमबार बिहान देखि नै रसुवागढी नाकाबाट व्यापारीका सामान आयात भएको छैन ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद मैनालीका अनुसार नयाँ वर्षका कारण एक हप्तासम्म सामान आयात नहुने चिनियाँ पक्षले बताएका छन् । यस्तै आइतबारदेखि नै केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेको रसुवाका व्यवसायी धर्म पौडेलले बताए ।
चिनियाँ नयाँ वर्षका कारण हरेक वर्ष केरुङमा रहेका प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालयहरू नै बन्द गरिन्छ । प्राइभेट ट्रान्सपोर्ट तथा सरकारी कार्यालय नै बन्द भएपछि सामान आयात रोकिएको पौडेलले बताए ।

दुई वर्षदेखि नै रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित हुँदैआएको छ । यस नाकाबाट हुने आयात पनि अघिल्ला वर्षहरूको तुलनामा न्युन मात्रामा छ । अहिले नाकाबाट दैनिक चिनियाँ ८ कन्टेनर मात्र सामान आयात भइरहेको थियो । चीन पक्षले भने कोटा प्रणालीमा सामान पठाइरहेको छ।

सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात तथा निर्यात बन्द भएको थियो । पछि कोरोना भाइरस (कोभिड–१९) महामारीसँगै रसुवागढी नाका भएर चीनबाट ल्याइने सामान बन्द भएको हो । व्यवसायीहरूका अनुसार उनीहरूले रसुवागढी नाकाबाट दुई वर्षदेखि नै सहज रूपमा सामान आयात तथा निर्यात गर्न पाएका छैनन् ।

कहिले हिमपात त कहिले पहिरोले सडक अवरुद्ध हुनुका साथै साढे ५ महिनासम्म कोरोना महामारीका कारण नाका ठप्प रह्यो । त्यसपछि पनि पटक पटक नाका खुल्ने र बन्द हुने गरेको छ । यस्ता समस्याले राजश्व संकलन पनि प्रभावित भएको भन्सार कार्यालयले बताएको छ ।

चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदैआएको थियो । रसुवागढी नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामान लगायत वस्तुहरू आयात हुने गरेको छ ।

नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसो, मैदा, डाल्टा घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सीको क्याण्डी, चकलेट, सख्खर, चुइगम लगायत वस्तु निर्यात हुँदैआएको थियो । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय