गहुँ आयात चाँडै खोल्न भारतसँग पहल, अस्थिर ब्याजदरका कारण साना उद्यमी प्रताडित

२०७९ माघ १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

माघ १६
गहुँ आयात खुलाउन सरकारले भारतसँग कुराकानी गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघको टोलीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गहुँ आयातका लागि पहल भएको जानकारी गराएका हुन्।
महासंघको टोली सोमबार दिउँसो उद्योगमन्त्री भेट्न पुगेको थियो। भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि यथाशीघ्र पहल गर्न माग गरेको थियो।

‘यसबारे भारतसँग छलफल भइसकेको छ र तत्काल आयात खुल्छ,’ मन्त्री भण्डारीको भनाइ उदृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्रीबीच छलफल भएको हो।

छलफलमा गोल्छाले अस्थिर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए। इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गइ मुद्रास्फीतिमा समेत चाप परेको तथ्य उनले राखेका थिए।

उद्योगहरुमा अघोषित लोडसेडिङका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुुपर्नेमा जोड दिइएको थियो।

कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा पनि अध्यक्ष गोल्छाले राखेका थिए।

भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयन बारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरिएको थियो।

महासंघको पहलमा तयार भएको स्टार्टअप नीतिका सम्बन्धमा अन्तिम छलफल गरि पारित गर्न समेत गोल्छाले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय