पुस २२
बंगलादेशले नेपालबाट जलविद्युत आयात गर्न भारतसँग निर्णायक भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाल र भुटानबाट जलविद्युतको आयात गर्न चाहेको भन्दै ‘देखिने गरी सहयोग गर्न’ भारत सरकारसँग प्रस्ताव गरका छन् ।
बुधबार नयाँदिल्लीमा भारत र बंगलादेशबीच विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी भएका हमिदले ‘भिजिबल’ सहयोगका लागि आग्रह गरेका हुन् ।



बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व हमिदले भारतीय पक्षको नेतृत्व ऊर्जा तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहलाई नेपालबाट बंगलादेशमा बिजुली ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
गत ९ भदौमा काठमाडौंमा भएको नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकमा नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका थिए ।
बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति गरेका थिए । त्यसअनुसार दुबै देशले भारतसँग सम्वाद अघि बढाएका छन् ।
भारत सरकारले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गरिहाल्ने नेपाल र बंगलादेशको योजना छ, ।
भारतले आफ्नो नोडल एजेन्सीमार्फत भारत हुँदै दुई देशबीच आफ्ना पूर्वाधार प्रयोग गरेर बिजुली व्यापारको अनुमति दिन सक्छ । तर, अहिलेसम्म भारतले यसमा सहमति जनाएको छैन । जसका कारण नेपाल र बंगलादेशले विद्युत व्यापार थाल्न सकेका छैनन् ।
बंगलादेश र नेपालबीचको विद्युत व्यापारमा भारत सहमत हुनैपर्छ । भारत सहमत भएपछि त्रिपक्षीय समझौता हुनसक्छ र बंगलादेशमा बिजुली बेच्न नेपाललाई ढोका खुला हुनेछ ।
अहिले नेपाल र बंगलादेशको सीमाहरुसम्म रहेको प्रसारणलाइन र पूर्वाधारले ५० मेगावाटभन्दा बढीको बिजुली व्यापार गर्न नसकिने प्राविधिक विश्लेषण छ । तर, सांकेतिक रुपमा भारतलाई पनि सहभागी गराएर ऊर्जा व्यापार थाल्न सकिए त्यसले भविष्यमा थप ऊर्जा सहकार्यको वातावरण बन्ने दुवै पक्षको विश्वास छ । भविष्यमा भारतको साथ लिएर नेपाल–भारत– बंगलादेश प्रसारण करिडोर निर्माण गर्ने समेत दुवै देशको योजना छ ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर नेपालमा सुनकोशी–३ जलविद्युत आयोजना बनाउन बंगलादेश अग्रसर छ । नेपालसँग सो आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन लिएको बंगलादेशले अध्ययन गरेर लगानी मोडालिटी तय गर्न चाहेको छ ।
आगामी फागुनमा बस्ने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा लगानी मोडालिटीमा सहमति गर्न नेपाल पनि पनि सहमत छ ।
यस्तो परियोजनाबाट उत्पादित बिजुली बंगलादेशसम्म लैजाने वातावरण बनाउन बंगलादेश भारतसँग सघन छलफलमा छ । बुधबार भारतसँगको बैठकमा नसरुलले बंगलादेशको ऊर्जा क्षेत्रमा लगातार माग बढेको भन्दै नेपाल र भुटानसम्म प्रसारणलाइनमार्फत जोडिने अवसर दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘यदि असामबाट बिजुली आयात गर्न सकिन्छ भने, उत्तरी बंगलादेशमा निर्बाध आपूर्ति सुनिश्चित गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘हामीले भारतबाट १ हजार १६० मेगावाट बिजुली आयात गरे पनि हामी थप आयात गर्न चाहन्छौं ।’
जवाफमा भारतीय ऊर्जा मन्त्री सिंहले भारतले बंगलादेशको उत्तरी भागमा बढी बिजुली आपूर्ति गर्न सक्ने बताएका छन् । नेपालबाट विद्युत् आयातमा सहयोग गर्ने आश्वासन दिँदै उनले बंगलादेशको विद्युत क्षेत्रको विकासका लागि मिलेर अघि बढ्न सक्ने बताएका छन् ।
बिहीबार
छलफल भएका विषयलाई अर्को संयुक्त निर्देशक समितिमा थप अध्ययन गरी निर्णय गर्न सकिने उनको भनाइ थियो । नेपालबाट बिजुली लैजान लामो समयदेखि बंगलादेश प्रयत्नरत छ । बंगलादेशमा बिजुली पठाउन नेपाल पनि इच्छुक छ ।
२८ असोज २०७६ मा दिल्लीमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटीको सातौं बैठकमा ‘नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता आवश्यक भएको, यसबारे छलफल गर्न भारतीय विदेश मन्त्रालयले तीन महिनाभित्र छुट्टै बैठक आयोजना गर्ने’ सहमति भएको थियो ।



