शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेमाथि कानूनी कारबाही सुरु भयोः माछापुच्छ्रे बैंक

२०७९ आश्विन २९, शनिबार
पढ्ने समय : 2 मिनेट

असोज २९
रुपन्देहीको सम्मरीमाईमा संचालित माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको बैंकले जनाएको छ ।

बैंकले शनिबार एक विज्ञप्ती जारी गर्दै शाखारहित बैंकिङ केन्द्रबाट स्थानीयको रकम हिनामिना गर्नेहरुमाथि अनुसन्धान सुरु भएको र सम्बन्धित प्रहरी क्षेत्रका प्रहरी कार्यालयहरुबाट कानूनी उपचार खोज्न स्थानीयलाई आग्रह समेत गरेको छ ।

बैंकले रुपन्देहीको सम्मरीमाईस्थित रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्वसुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत करिब ५ वर्षअघिबाट सेवा सुरु गरेको थियो ।

उक्त क्षेत्रका व्यवसायिक प्रतिनिधि निरन्जन पाठक र सिकन्दर ठाकुरले विभिन्न व्यक्तिहरुबाट बुझि लिएको रकम सिस्टम मार्फत नै भौचर प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनाधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेकोले उनीहरुलाई कानुनी प्रक्रियामा ल्याइएको बैंकले जानकारी दिएको छ ।

पाठक र ठाकुरले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेको स्वीकार गरेको बैंकले जनाएको छ । उक्त कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागि हुन पनि बैंकले आग्रह गरेको छ । सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले उक्त सेवा बन्द पनि गरिएको बैंकले जनाएको छ ।

यहाँका सर्वसाधरणले उक्त केन्द्रमार्फत बैंकमा निक्षेप संकलन गर्नेहरु सबै किसान हुन् । कतिका छोराछोरी र श्रीमान् विदेश गएर पठाएको पैसा जम्मा गरेका छन् भने कतिले खसीबोका, कुखुरा, भैंसी, दुध, धान, तरकारी बेचेर जति सकिन्छ, त्यती जम्मा गरेका छन् । यसरी किसानबाट जम्मा गरिएको पैसा गायब हुँदा समेत बैंकले कुनै वास्ता नगरेको स्थानीयको आरोप थियो ।

बैंकमा स्थानीयले आफ्नो गक्ष अनुसार ५ हजारदेखि १६ लाखसम्म जम्मा गरेका थिए । यसरी जम्मा गरेको सबै स्थानीयको गरी करिब ३ करोड बढी रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको आरोप लागेको थियो । यसबारे सिद्धार्थ अनलाईन डटकम मा समाचार प्रकाशन भएपछि बैंकले चासो दिएको हो ।

एजेन्टले कानूनविपरीत बैंक भौचर भरेर खातामा पैसा नहालेको र रकम हिनामिना गरेको बैंकको आरोप छ । यहाँ बैंकमा रकम जम्मा गर्ने निक्षेपकर्ताहरुले कतिले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैंसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका थिए । तर, एकएक रुपैयाँ गरेर गरिब किसानले जोडेर जम्मा गरेको रकम बैंकबाट गायब भएपछि उनीहरु चिन्तित बनेका छन् । उनीहरु बदमासी गर्ने बैंक र त्यसका एजेन्टलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय