चिनियाँ कम्पनी विरुद्ध संसदीय समितिको कडा कदम नारायणगढ–बुटवल सडकको ठेक्का तत्काल रद्ध गर्न निर्देशन

२०७९ श्रावण १२, बिहीबार
पढ्ने समय : 2 मिनेट

साउन १२
संसदीय समितिले नारायणगढ–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरुसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो ।

सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले सरकारले ठेक्का रद्ध गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन निर्देशन गर्नुभयो । सभापति खड्काले मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरोन्नती भइरहेका राष्ट्रिय स्तरका तथा अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरुको निर्माणमा राष्ट्रको हीत नहुने सम्झौता तत्काल समीक्षा गरी पुनारावोलकन गर्नपनि निर्देशन दिनुभयो। ।
उहाँले देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुने गरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता मार्ग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्नपनि सरकारलाई निर्देशन गर्नुभयो ।

सभापति खड्काले निर्माणधिन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षाले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिलाई बुझाउन भौतिक मन्त्रालयलाई निर्देशन दिनुभयो ।
सभापति खड्काले हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवत जावतलाई कष्ठकर बनाएको भन्दै क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय