नेपाल ले भारतलाई बिजुली बेचेर २८ दिनमै १ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी आम्दानी

२०७९ असार १८, शनिबार
पढ्ने समय : 2 मिनेट

असार १८
भारतलाई विद्युत् बेचेर नेपालले २८ दिनमा १ अर्ब ७२ करोड २९ लाखभन्दा बढी नेपाली रुपैयाँ आम्दानी गरेको छ।

अट्ठाइस दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको अधिकारीहरूले बताएका छन्।

’’यो प्राधिकरणको खातामा कर कटाएर आएको रकम हो,’’ प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने।
’’नेपालले भारतलाई ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ। त्यसमा कहिलेकाहीँ फ्रिक्वेन्सी हेरेर कुनै इभेन्टका बेला ४८ मेगावाट अतिरिक्त पठाउँछौँ।’’

अधिकारीहरूका अनुसार नेपालले सरदर मा निर्यात गर्न पाउने सीमाको पूर्ण क्षमतामा विद्युत् बेचिरहेको छ।
नेपालले जेठ १९ गतेबाट भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ।

हाल नेपालले भारतलाई बिजुली बेचिरहेको भए पनि विविध समस्याका कारण वर्षैभरि दक्षिणी छिमेकीबाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता नेपालको छ।

एकै दिनमा १० करोडसम्मको बिजुली भारतलाई बेच्दा समेत सुदूरपश्चिममा टनकपुरबाट ४० देखि ५० मेगावाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता छ।

सुदूरपश्चिम क्षेत्रमा उत्पादित विद्युत्ले त्यस क्षेत्रको माग पूरा नगर्ने हुँदा नेपालको पूर्वी क्षेत्रबाट उत्पादित बिजुली त्यहाँसम्म पु¥याउँदा त्यसको भोल्टेज एकदमै कम हुने अवस्था छ।

साथै पूर्वाधारको पनि अभाव छ जस कारण सुदूरपश्चिममा भारतमा अझै केही वर्ष निर्भर रहनुपर्ने अवस्था रहेको बताइन्छ। देशका अन्य क्षेत्रमा भने प्राविधिक समस्या आउँदा मात्रै भारतबाट बिजुली लेन देन गर्ने गरिएको छ।

गत आर्थिक वर्षमा नेपालले भारतबाट ७१९.३५७ मिलियन युनिट विद्युत् आयात गरेको भट्टराई बताउँछन्।

भारतबाट बिजुली खरिद गर्दा प्रतियुनिट औसतमा ९.१० नेपाली रुपैयाँमा कारोबार गरेको बताइन्छ।
नेपालले ऊर्जा विक्री बढाएर कम खरिद गर्नुपर्ने अवस्था आउनुले भारतसँगको व्यापार घाटा कम गर्न उल्लेख्य सहयोग गर्ने जानकारहरू बताउँछन्।

नेपालले सुरुमा त्रिशूली र देवीघाट जलविद्युत आयोजना अन्तर्गतको ३९ मेगावाट विद्युत् भारततर्फ निर्यात सुरु गरेको थियो।

त्यसपछि कालीगण्डकी ’ए’ जलविद्युत् आयोजनाको थप १४४ मेगावाट बिजुली निर्यात गर्न थालियो।

त्यसबाहेक हाल मर्स्याङ्दीको, मध्य मर्स्याङ्दी र लिखु जलविद्युत आयोजनाबाट उत्पादित बिजुली पनि विक्री भइरहेको छ।

’’यी मात्रै हामीले भारत सरकारबाट आइएक्समा (इन्डियन एक्सचेन्ज मार्केट) विक्री गर्नका लागि स्वीकृत भएका आयोजना हुन्,’’ भट्टराईले भने।

हाल नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइनबाट विद्युत् कारोबार गरिरहेको छ।

ऊर्जामन्त्री पम्फा भुसालले नेपालले अबको केही समयमा हाल विक्री गरिरहेको ऊर्जाको दुई गुणा बेच्न सक्ने अवस्था रहनेछ र त्यसका लागि भारतसँग पहल पनि भइरहेको बताएकी छन्।

’’अहिले नै यो भन्दा बढी निर्यात गर्न सक्ने अवस्था छ। यो भन्दा दोबर दिन सक्छौँ। भारतसँग आग्रह गरिरहेका छौँ,’’ उनले भनिन्।

नयाँ आयोजनाहरू सञ्चालनमा आएर आन्तरिक उत्पादनबाट यो वर्ष ७०० देखि १,००० मेगावाट विद्युत् थपिने उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय