भैरहवा असार २
सरकारको विभेदकारी नीतिका कारण स्टिल तथा वायर्स उद्योग विस्थापित हुने अवस्थामा पुगेको भन्दै रुपन्देहीका उद्योगी व्यवसाय सहित मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
सरकारले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी बजेटमा करको दर तय गरेपछि धेरै उद्योगी तथा मजदुर समस्यामा परेको भन्दै आन्दोलनमा उत्रिएको बताएका छन् ।
प्रतिस्थापन विधेयकमार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महशुल शून्यमा झार्ने निर्णय गरेको सरकारले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तशुल्क थपिदिएपछि उद्योगहरु थप संकटमा परेको उद्योगीले बताएका छन् ।
विलेट्स आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या तुलनात्मक रुपमा धेरै हुँदाहुँदै पनि सीमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने गरी समग्र सरोकारवाला तथा उद्योगीहरुसँगको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरुलाई मर्कामा परेको उद्योगी बताउँछन् । स्पञ्ज आईरन तथा विलेट्सबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्य बीचको फरक भन्सार महसुलमै . १२ देखि १३ रुपैया सम्म महंगो पर्ने उद्योगीको भनाइ छ ।
बिलेट आयात गरेर स्टिल्स उत्पादन गर्ने ३० मध्ये ८ वटा उद्योगलाई मात्रै फाइदा पुग्ने सरकारले निर्णय गरेको भन्दै उद्योगीहरु ले सरकारको असहयोगी नीतिको चर्को विरोध गरेका छन् ।



आ.व २०७९÷०८० को नयाँ बजेटमार्फत सरकारले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएको छ । सरकारले ल्याएको यो व्यवस्थाले नेपालमा सञ्चालित ३० डण्डी उद्योगहरुमध्ये स्पञ्ज आईरन तथा पत्रु पगालेर डण्डी बनाउने ८ उद्योगहरुलाई मात्र एकपक्षीय रुपमा अत्याधिक लाभ गरेको र बाँकी २२ उद्योगहरुलाई ठूलो नोक्सान हुने विभेदकारी अवस्था सिर्जना गरेको उद्योगी बताउँछन् ।
बजेटले बिलेटको अन्तशुल्क प्रतिमेट्रिकटन २ हजार ५ सय रुपैयाँबाट बढाएर ३ हजार ५ सय पुर्याइएको छ । भने एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्याइएको पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुको भनाइ रहेको छ । त्यस्तै भन्सार बिन्दुमै लगाइँदै आएको २ हजार ५ सय प्रतिमेट्रिकटनको अन्तःशुल्कलाई बढाएर ४ हजार ५ सय पुर्याइएको छ ।
पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक साहु ले उद्योग विस्थापित भए मजदूर मर्कामा पर्नेे बताउनु भएको छ । ८ वटा उद्योगका करिब ८ देखि १० हजार मजदूर प्रभावित हुने साहुले जानकारी दिनु भयो ।
बिलेट्स आयात गरी डण्डी बनाउने उद्योगहरुको संख्या झण्डैले तेब्बर हुँदाहुँदै पनि सीमित उद्योगहरुको योजनालाई सहयोग पुग्ने सरकारले यस्तो प्रावधान ल्याएको उद्योगीको ठहर छ । सरकारको यो नीतिका कारण एकाधिकृत बजार तथा कालोबजारीको सिर्जना, भन्सार राजस्वमा नोक्सानी, अन्तःशुल्क राजस्वमा नोक्सानी हुने उनीहरुको भनाइ छ ।
सरकारको विभेदकारी नीतिका कारण कच्चा पदार्थको लागतमै प्रतिस्पर्धा गर्न नसकिने गरी अन्तर देखिएको एभरेष्ट रोलिङ इण्ड्रिष्टिज प्रा.लि. भैरहवाका सञ्चालक अरुण कुमार गोयनकाले बताउनु भयो ।
एस.आर. स्टिल प्रा.लि.का सञ्चालक सुरज उप्रेतीले सरकारले सबै उद्योगलाई समान रुपमा हेर्नुपर्ने बताउनु भयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विना परामर्श र उद्योगी व्यवसायीको राय सुझावविपरीत एकतर्फी रुपमा आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले दर्जनौं स्वदेशी उद्योग व्यवसाय सदाका लागि बन्द भइ हजारौं को रोजगारी गुम्ने अवस्था देखिएको बताउनु भयो । नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सरकारले नीति परिवर्तन नगरे मजदूर मर्कामा पर्ने बताउदै उद्योगी तथा मजदूरले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरन तथा बिलेट्सबीच भन्सार महशुल एवं अन्तशुल्कको विभेदकारी व्यवस्था एवं एमएस वायरमा बढाइएको भन्सार महशुल तथा अन्तःशुल्कलाई सहजीकरण गर्न आग्रह गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही सहित ८ वटा उद्योगले बिहीबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत उनीहरुले अर्थमन्त्री जर्नादन शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा एस.आर. स्टिल. प्रा.लि., पञ्चकन्या स्टिल प्रा.लि., पञ्चकन्या वायर्स प्रा.लि., रत्ना आयरन इण्डष्ट्रिज प्रा.लि., विनायक स्पात प्रा.लि., एभरेष्ट रोलिङ्ग ई. प्रा.लि., गोयनका स्टिल प्रा.लि., काठमाडौं स्टिल प्रा.लि.ले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नेपाल सरकारले उद्योगी व्यवसायी र मजदूरको हकहितमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो । तिवारीले उद्योगी व्यवसायी र मजदूरको माग समेटिएको ज्ञापनपत्र अर्थमन्त्रालयसमक्ष पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । 



