माघ २४
भारतको औपचारिक भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति राजकिशोर यादव नेतृत्वको प्रतिनिधिमण्डल दिल्ली, गोवा, मुम्बई हुँदै नेपाली सीमावर्ती उत्तरप्रदेश पुगेको छ । मंगलबार लखनउमा मुख्यन्त्री योगी आदित्यनाथ, गभर्नर आनन्दीबेन पटेल तथा विधानसभाका सभामुखसँग भेटेको टोली अयोध्यामा राम मन्दिर दर्शन गरेर राति वनारस पुगेको छ ।
मुख्यमन्त्री योगीले नेपाल र भारत दुई शरीरका एउटै आत्मा भन्दै नेपालको सांस्कृतिक पर्यटन विकासमा उत्तरप्रदेशले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन । ‘मुख्यमन्त्री योगीजीसँग हाम्रो एक घण्टा कुराकानी भयो । अयोध्यामा राम मन्दिर बनेकोमा बधाई दिँदै जनकपुरधामको विकासमा सहयोगका लागि आग्रह गरेँ । जनकपुरधामविना अयोध्या अपुरो हुन्छ, अयोध्या मात्रै बनाएर पुग्दैन जनकपुरधामको विकासमा सहयोग पाउनु हाम्रो हक हो भन्ने कुरा प्रतिनिधिमण्डलका तर्फबाट राखेँ,’ सभापति यादवले भने, ‘दुई देशबीचमा रामायण सर्किट, बुद्धसर्किट बनाउनुपर्छ र यसमा भारतको सहयोग चाहिन्छ भन्ने कुरा राखेँ । उहाँले सक्दो सहयोग गर्छौँ भन्नुभएको छ ।’
लखनउको कालीदास मार्गस्थित मुख्यमन्त्रीनिवासमा भेटवार्ता भएको थियो । मुख्यमन्त्री योगीले भेटवार्तापछि ट्विट गर्दै भनेका छन्, ‘भगवान् पशुपतिनाथको पावन धरा छिमेकी राष्ट्र नेपालबाट आएका माननीय सांसदगणको शिष्टमण्डलसँग शिष्टाचार भेट भयो ।’



उत्तरप्रदेशको आठौँ बजेटमा पर्यटनलाई विशेष महत्व दिइएको सन्दर्भ उल्लेख गर्दै सभापति यादवले नेपालको पर्यटनमा सघाउन मुख्यमन्त्री योगीलाई अनुरोध गरे । यादवले नेपाल भारतको छिमेकी मात्र नभएर कुटुम्ब भएकोतर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराएका थिए । यादवले नेपालको एकीकरण गुरु गोरखनाथको आशिर्वादबाट भएको स्मरण गराउँदै उत्तरप्रदेश र नेपालबीचको यो सम्बन्धलाई पनि विकास गर्नुपर्ने बताएका थिए । यसको जवाफ दिने क्रममा योगी भावुक भएको यादवले बताए ।
सभापति यादवले उत्तरप्रदेशका गभर्नर आनन्दीबेन पटेलले शिक्षाको विकासमा जोड दिएकी थिइन । ‘भारतका विश्वविद्यालयहरू गाउँतिर फर्किन थालेका छन। यहाँको अनुभव नेपाललाई काम लाग्न सक्छ । नेपाल शैक्षिक रूपमा माथि उठोस्,’ गभर्नरलाई उद्धृत गर्दै सभापति यादवले भने । यादवका अनुसार उत्तरप्रदेशको विधानसभामा बजेट सत्र चलिरहेका वेला नेपाली सांसदहरूलाई सभामुख सतिश महानाले स्वागत गरेका थिए ।
सभापति यादवसहितको टोलीले अयोध्यामा राम मन्दिरको दर्शन गरेको छ । मुख्यमन्त्री योगीले मन्दिर दर्शनको प्रबन्ध गरेका थिए । ‘हाम्रो कार्यतालिकामा राम मन्दिरको दर्शन गर्ने भन्ने थिएन । योगीजीले राम मन्दिर गए–नगएको सोध्नुभयो, हामीले कार्यतालिकामा छैन भन्यौँ । उहाँले तत्कालै फोन गरेर सबै प्रबन्ध मिलाइदिनुभयो र साँझ पुगेर दर्शन गर्यौँ,’ यादवले भने, ‘अहिले वनारस पुगेका छौँ । बुधबार बिहान काशी विश्वनाथ मन्दिरमा दर्शन गर्छौँ ।’



