माघ १९
भारतले नेपाललाई दिने अनुदान बढाएको छ । नेपालका लागि वित्त वर्ष २०२३÷२४ मा ५ अर्ब ५० करोड भारतीय रुपैया (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४÷२५ का लागि ७ अर्ब भारतीय रुपैया (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी छिन् ।



भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारतीय रुपैया (१० अर्ब ४० करोड रुपैयाँ) पु¥याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२÷२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारतीय रुपैया अनुदान प्राप्त गरेको थियो ।
भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ । वित्त वर्ष २०२४÷२५ का लागि भुटानलाई दिने सहायता भने घटेको छ ।आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारतीय रुपैया पाउने छ । यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो । गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो । जसलाई संशोधनमा २३ अर्ब ९८ करोडमा झारिएको थियो । यसमध्ये ऋणमात्र १६ अर्ब १४ करोड पु¥याइएको थियो ।
भारत र माल्दिभ्सबीच अहिले विवाद चलिरहेको छ । यसबीच उसले पाउने अनुदान भने बढेको छ । भारतले वित्त वर्ष २०२४÷२५ का लागि माल्दिभ्सलाई ६ अर्ब भारतीय रुपैया अनुदान दिने छ । यो अघिल्ला वर्षका तुलनामा धेरै हो ।
वित्त वर्ष २०२३÷२४ मा ४ अर्ब विनियोजन भएको थियो । यसलाई संशोधन गरी ७ अर्ब ७० करोड पु¥याइएको थियो । विनियोजनको तुलनामा माल्दिभ्सको अनुदान बढेको छ । भारतले नेपाल, भुटान र माल्दिभ्सबाहेक अफगानिस्तान, बंगलादेश, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमारसहित मुलुकलाई नामै तोकेर अनुदान छुट्ट्याउँदै आएको छ ।



