


माघ १२
चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन् । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।
उनलाई माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गरेका थिए । नेपाल भ्रमणमा आइपुगेको उपमन्त्री हैयान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
तीनदिने मैत्रीपूर्ण भ्रमणका लागि आज मध्यान्ह काठमाडौँमा ओर्लिएका हैयान भेटघाटका लागि दिउँसो २ बजे चमति, बनस्थलीस्थित रास्वपा मुख्यालय पुग्नुभएको हो । भेटघाटमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता मुकुल ढकाल, सहमहामन्त्री सुमना श्रेष्ठलगायत दर्जन बढीको उपस्थिति रहेको बताइएको छ ।
रास्वपा सभापति रविले हालै चिनियाँ ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएको चितवन–बुटवल सडक खण्डको पैदल यात्रा गरेकोमा चीन सन्तुष्ट नरहेको चर्चा चलिरहेका बेला सिपिसिका उच्च नेताले प्राथमिकताका साथ भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ । केही दिनअघि चिनियाँ राजदूत छन् सोङ्गले पनि रविसँग भेटवार्ता गर्नुभएको थियो ।
करिब एक घण्टा लामो भेटघाट सकेर चिनियाँ टोली भक्तपुर अवलोकनमा निस्किएको छ ।
यसपछि शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने र साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
आइतबार ९ देखि ११ बजेसम्म सोल्टि होटलमा हुने एउटा कार्यक्रममा सहभागी हुने आईतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ ।



