पुस १७



बुद्ध जन्मस्थल लुम्बिनीमा भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकको सङख्यामा बृद्धि भएको छ ।
पछिल्लो समय लुम्बिनीमा भएका बिभिन्न देशका राष्ट्रप्रमुख तथा उच्चस्तरीय भ्रमणपछि लुम्बिनीमा आउने बिदेशी पर्यटकको सङख्यामा बृद्धि भएको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले लुम्बिनीमा तेस्रो मुलुक तथा भारतबाट आउने पर्यटकको सङख्यामा बृद्धि भएको बुझिएको छ ।
सन् २०२३ मा तेश्रो मुलुकबाट ७६ हजार २१० जना पर्यटक लुम्बिनी आएका छन् भने भारतबाट २ लाख ६६ हजार ५१० जना पर्यटकले लुम्बिनीको अवलोकन गरेका छन् ।
सन् २०१९ को तुलनामा २०२३ मा तेस्रो मुलुकका पर्यटकहरूको संख्या कम भए पनि लुम्बिनी आउने भारतीय पर्यटक भने बढेका छन् । सन् २०१९ मा २ लाख ६ हजार १७१ भारतीय पर्यटक लुम्बिनी आएकोमा २०२३ मा २ लाख ६६ हजार ५१० जना भारतीय पर्यटकले लुम्बिनी अवलोकन गरेको लुम्बिनी बिकास कोषले जनाएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
२०७९ जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्नु भएको थियो भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले २०८० कार्तिक १४ गते लुम्बिनी भ्रमण गर्नु भएको थियो ।
उच्चस्तरीय बिदेशी व्यक्तिहरुको भ्रमण पश्चात लुम्बिनीमा भारतिय तथा बिदेशी पर्यटकको आवागमन भएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले उल्लेख गरे ।
सन् २०२२ मा २ लाख ३० हजार ८६३ भारतीय पर्यटक लुम्बिनी आएका थिए । यसअघि सन् २०१९ मा ११५ मुलुकबाट गरी एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए । कोभिड १९ पछि सन् २०२० मा ८३ मुलुकका ४५ हजार ३ सय २९ र सन् २०२१ मा ६८ मुलुकका जम्मा १ हजार १ सय ९७ पर्यटक लुम्बिनी आएका थिए ।
पाँच वर्ष अगाडिको तुलनामा २०२३ मा लुम्बिनी आएका तेश्रो मुलुकका पर्यटकहरूको संख्या झन्डै एकलाखले कमी भए पनि कोभिड १९ पछि सुस्ताएको पर्यटन क्षेत्रका लागि यो संख्याले केही आशा जगाएको छ ।
अघिल्लो वर्ष २०२२ भन्दा पर्यटकको संख्या बढे पनि पर्यटकहरू आउने मुलुकको संख्या भने घटेको छ । सन् २०२२ मा ९६ मुलुकका पर्यटक लुम्बिनी आएकोमा २०२३ मा ८५ मुलुकका मात्रै पर्यटक आएका छन् । पर्यटकहरू आउने मुलुकको संख्या सन् २०१९ मा भन्दा गतवर्ष ३० ले कमी हो ।
२०२३ मा सबैभन्दा धेरै नोभेम्बरमा १६ हजार ४११ र अन्तिम डिसेम्बर महिनामा १३ हजार ४९९ पर्यटक लुम्बिनी आएका छन् ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार सन् २०२३ मा तेश्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका १६ हजार १७२ जना पर्यटकले लुम्बिनी अवलोकन गरेका छन् । त्यस्तै, थाइल्याण्डका १५ हजार ७२१, भियतनामका १० हजार ४१४, चिनिया ६ हजार ११३, दक्षिण कोरियाका ५ हजार ३०२, जर्मनी २ हजार १९८ र १ हजार ६७८ अमेरिकी पर्यटक लुम्बिनी आएका छन् ।
गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा बेलायत, ताइवान, सिंगापुर, रसिया, म्यानमार, मलेसिया, जापान, इटली, इण्डोनेसिया, फ्रान्स, क्यानडा, कम्बोडिया, अष्टेलियाबाट आउने पर्यटकहरूको संख्या धेरै हुन्छ ।
त्यस्तै अर्जेन्टिना, अर्मेनिया, बेल्जियम, बुल्गेरिया, ब्राजिल, चिली, कोष्टारिका, क्रोएटिया, साइप्रस, इजिप्ट, इष्टोनिया, इक्वेडर, घाना, ग्वाटेमाला, इरान, केन्या, लिबिया, लाओस्, उरूग्वे, स्विटजरल्याण्ड, स्विडेन, सुडान, स्लोभेनिया लगायतका मुलुकका पर्यटक समेत आउने गर्छन् ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रका लागि गतवर्षको आएका पर्यटकहरूको संख्याले केही आशा जगाए पनि नेपाल आएका पर्यटकको संख्यालाई हेर्दा लुम्बिनी आउने पर्यटकको संख्या भने अत्यन्त न्यून रहेको छ। सन् २०२३ मा तेश्रो मुलुकबाट १० लाख १४ हजार ८७४ पर्यटक नेपाल आएकोमा त्यसको साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आउने गरेका छन् ।
यसअघि सन् २०१९ मा नेपाल आएका झन्डै साढे १४ प्रतिशत पर्यटक लुम्बिनी आएका थिए । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल आएका थिए भने एकलाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए ।
लुम्बिनीमा पर्यटक आकर्षित गर्न सन् २०२४ को पूर्वसन्ध्यामा सडक खाना महोत्सव आयोजना पनि गरिएको थियो । यहाँ आउने पर्यटकको बसाई लम्बाउन र नयाँ रणनीति बनाउन यहाँका पर्यटन व्यवसायीले विकास कोषसँग समन्वय गरेर अगाडि बढ्ने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् ।
उनले विदेशी पर्यटकलाई थप आकर्षित गर्न गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल नियमित चलाउनुपर्ने र लुम्बिनी वरिपरीको विकासमा विशेष ध्यान दिनुपर्ने जनाए ।



