कार्तिक १७
छिमेकी चीनबाट अर्को साता उच्चस्तरीय प्रतिनिधिमण्डल काठमाडौं आउने तय भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउन लागेका हुन । वाङलाई चीन सरकारले नेपाल–चीन सम्बन्धको इन्चार्ज तोकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणपछि चीनबाट पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल आउन लागेको हो । प्रधानमन्त्री प्रचण्ड र तिब्बत सेक्रेटरी वाङबीच १० असोजमा तिब्बतको राजधानी ल्हासामा भेटवार्ता भएको थियो । भेटवार्तामा नेपाल र चीनबीचका परम्परागत सीमानाकाका पूर्वाधार व्यवस्थापन गर्दै क्रमशः खुला गर्ने सहमति भएको थियो ।
नेपाल र चीनको कूटनीतिक च्यानलबीच वाङको भ्रमणको तयारी भएको छ । ‘तिब्बतबाट उच्चस्तरीय भ्रमण हुँदै छ । हामी तयारीमा छौँ,’ नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले भन्यो, ‘यो भ्रमण प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि र नेपाल–तिब्बत सम्बन्ध थप सुदृढ गर्नका लागि केन्द्रित हुनेछ । उहाँ नोभेम्बर ८ वा ९ मा आउने गरी तयारी भएको छ ।’
परराष्ट्र स्रोतका अनुसार तिब्बत सेक्रेटरी वाङले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटवार्ताका लागि चिनियाँ दूतावासबाट अनुरोध आएको छ । ‘नेपालका लागि तिब्बत र तिब्बतस्थित कम्युनिस्ट पार्टी प्रमुख निकै महत्वपूर्ण छन । बेइजिङसँग भएका सबै नीतिगत समझदारी कार्यान्वयन गर्ने सरकारका प्रमुख भएको हुनाले उनको भ्रमणलाई हामीले महत्व दिएका छौँ,’ परराष्ट्र स्रोतले भन्यो ।



चीन सरकारले तिब्बत सरकारका पार्टी सेक्रेटरीको सिफारिसमा नेपाललाई सहयोगसम्बन्धी निर्णय लिने गरेको जानकार नेपाली अधिकारी बताउँछन। ‘प्रधानमन्त्री चीन भ्रमणमा गएका वेला ल्हासामा भएको छलफलमा उनी नेपाल आउने कुराकानी भएको थियो, अहिले उनको आउने समय मिलेको छ,’ नेपाली अधिकारीले भने, ‘सन् २०२१ देखि उनी तिब्बतको पार्टी सेक्रेटरी भएयता नेपालप्रति असाध्यै सद्भाव राख्दै आएका छन । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा बेइजिङ र ल्हासामा भएका सहमतिअनुसार नेपाल–चीन (तिब्बत) नाका खुल्न थालेका छन । पूर्वी नेपाल जोड्ने किमाथांका र ओलाङचुङगोला नाका द्विपक्षीय व्यापारिक प्रयोजनका लागि खोल्न चीन तयार भएको छ । यसका लागि स्थानीय प्रशासनले आपसी समन्वय थालेका छन । प्रधानमन्त्री प्रचण्डले चीनबाट फर्केपछि भूकम्पले बन्द भएका र कोभिडपछि बन्द भएका नाकाहरू खुलेको तथा परम्परागत नाकाहरू पनि खुल्ने जानकारी दिएका थिए ।
वाङले काठमाडौं हवाई सेवा चाँडै सञ्चालन हुने विश्वास दिलाएका थिए । नेपाली अधिकारीका अनुसार उनको भ्रमणलगत्तै स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत र विस्तार सुरु हुनेछ । उनको भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणमा भएको सहमतिअनुसार नेपाल–चीन सीमाको संयुक्त निरीक्षण गर्ने विषयमा थप छलफल हुनेछ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र नेपालको गृह मन्त्रालयबीच तीन तहमा सीमा सम्पर्क प्रणाली स्थापना गर्ने गरी प्रोटोकलमा हस्ताक्षर गर्ने सहमति भएको थियो । यसबारेमा गृहमन्त्री श्रेष्ठ र वाङबीच छलफल हुनेछ ।
आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी चीन–नेपाल सन्धिको अनुमोदनलगायका विषयमा पनि छलफल हुनेछ । वाङ फर्केपछि अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरणको काम पनि चिनियाँ पक्षले सुरु गर्ने भएको छ । दुई देशबीच सहमति भएअनुसार केरुङ–रसुवागढी, चिलिमे २२० केभी सीमापार ऊर्जा प्रसारणलाइन निर्माणका विषयमा पनि छलफल हुनेछ । जलविद्युत्, हावा ऊर्जा, सौर्य ऊर्जा, बायोमास ऊर्जा हाइड्रोजनको क्षेत्रमा सहकार्यका लागि गठित नेपाल–चीन संयुक्त कार्यान्वयन संयन्त्रलाई सक्रिय बनाउने विषयमा पनि छलफल हुने स्रोतहरूले जनाएका छन ।
प्रधानमन्त्रीको चीन भ्रमणपछि नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले चीनको भ्रमण गरेका छन । यही साता सांघाई फोरममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सांघाई भ्रमणमा जाने तय भएको छ ।



