चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलगत्तै अमेरिकी टोली आउँदै

२०७८ चैत्र ५, शनिबार
पढ्ने समय : 2 मिनेट

चैत ५

पछिल्लो समय नेपालमा दुई शक्तिराष्ट्र अमेरिका र चीनको चासो बढ्दै गइरहेको छ। अमेरिकी सहयोग अनुदान एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि नेपालमा दुवै देशको चासो बढेको हो।

एमसीसी सम्झौतालाई संसदले अनुमोदन गर्नुअघि चीनले संसदबाट अनुमोदन गर्न नहुने अभिव्यक्ति दिएको थियो। चीनको दबाबका बीच पनि नेपालको संसद्ले एमसीसी अनुमोदन गरेको थियो।

संसदले एमसीसी सम्झौता अनुमोदन गरेलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपाल भ्रमणका लागि इच्छा व्यक्त गरेका थिए। सोही अनुसार चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी भइरहेको छ। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मार्च २६–२७ मा चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपाल भ्रमण गर्ने भएका छन्।

नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री बनेपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण विदेशी नेताको पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा सन् २०१७ मा सम्झौता भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाका सम्बन्धमा छलफल हुने र नेपाल–चीनबीचको सीमा विवाद, सीमा नाकामा लगाइएको रोक र चीन मा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई प्रवेश गर्न दिने विषयमा पनि छलफल हुने बताइएको छ।

चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमण गरेको करिब दुई सातापछि अमेरिकी ’जम्बो’ प्रतिनिधि मण्डल नेपाल आउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार २५ अमेरिकी सांसदको टोली अप्रिल दोस्रो सातातिर नेपाल आउने भएको हो।

चीनबाट उच्चस्तरीय भ्रमण हुने तयारी भएसँगै वासिङ्टनले २५ सदस्यीय प्रतिनिधिमण्डलको जम्बो टोली नेपाल पठाउन लागेको हो। यो अमेरिकाबाट हुने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिनिधिमण्डलको टोली हुने भएको छ। कूटनीतिज्ञहरुले अमेरिका र एमसीसीका विषयमा नेपालमा उठेका विभिन्न भ्रमहरुलाई चिर्न र एमसीसी सहायता नेपालको हितमा रहेको विषयलाई थप पुष्टि गराउनका लागि यो भ्रमण हुन लागेको बताएका छन्।

अमेरिकी टोलीको नेपाल भ्रमणबारे जानकार एक कूटनीतिज्ञले भने, ’विगत चार वर्षदेखि अन्योलमा रहेको एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसले खेलेको महत्त्वपूर्ण भूमिकालाई धन्यवाद दिनका लागि हो।’ अर्कोतर्फ अमेरिकाको उक्त भ्रमण चीनलाई ’हामी पनि छौं’ भन्ने सन्देश दिनका लागि पनि भएको उनको भनाइ छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको नेपाल भ्रमणको निम्तो आदानप्रदान हुने गरी तयारी अघि बढिरहेको छ।
नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षको अवसरमा नेपाल र अमेरिकाबीच उच्चस्तरीय भ्रमण गराउने तयारीस्वरुप पनि रहेको परराष्ट्र मन्त्रालयका ती अधिकारीले जानकारी दिए। उनले भने, ’दुई मुलुकबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षको अवसरमा नेपाल र अमेरिकाबीच रहेका राजनीतिक, सामाजिक र आर्थिक सम्बन्धको विषयमा छलफल गर्न दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको तयारी पनि भइरहेको छ।
ती अधिकारीका अनुसार अमेरिकी उपराष्ट्रपतिको भ्रमण नमिलेको अवस्थामा विदेशमन्त्री एन्टोनी ब्लिन्केनको नेपाल भ्रमणको तयारीका विषयमा छलफल हुनेछ।

यसअघि सन् २०१७ मा अमेरिकी सभामुख न्यान्सी पेलोसी नेतृत्वमा ८ सदस्यीय प्रतिनिधिमण्डलको टोलीले नेपाल भ्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय