चन्द्रयान–३ को सफलतापूर्वक अवतरणप्रति भारतलाई नेपाली नेताहरुको बधाई

२०८० भाद्र ७, बिहीबार
पढ्ने समय : 2 मिनेट

 

 

भदौ ७

नेपाली नेताहरुले ’चन्द्रयान–३’ लाई चन्द्रमाको सतहमा अवतरण गर्न सफल भएकोमा भारतलाई बधाई दिएका छन् । भारतले गत असार २९ गते प्रक्षेपण गरेको ’चन्द्रयान–३’ बुधबार साँझ चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अतवरण गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेताहरुले भारत र भारतीय वैज्ञानिकहरुलाई बधाई दिएका छन् ।

’मित्रराष्ट्र भारतले चन्द्रयान–३ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु । मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ,’ प्रधानमन्त्री दाहालले फेसबुकमा लेखेका छन्,’यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु ।’

 

चन्द्रमा अवतरण भएको केही समयपछि बंगलोरस्थित आफ्नो कमाण्ड सेन्टरलाई सन्देश पठाएको थियो । इसरोले अवतरण हुँदै गर्दा यानबाट खिचेको तस्बिरहरु पनि सार्वजनिक गरिसकेको छ ।

पूर्वप्रधानन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्रयान–३ को सफलाताका लागि भारतीय प्रधानमन्त्री मोदी तथा भारतीय जनतालाई बधाई दिएका छन् । ’चन्द्रयान–३ को चन्द्रमा सफल अवतरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई तथा जनतालाई हार्दिक बधाई । अन्तरिक्ष क्षेत्रमा यो महत्वपूर्ण प्रगति हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’हामी इसरोको वैज्ञानिकहरुको असाधारण कार्यका लागि सम्मान गर्दछौं ।’

चन्द्रयान–३ को सफलता अवतरणसँगै तत्कालीन सोभियत संघ, अमेरिका, चीनपछि चन्द्रमा सफलतापूर्वक अवतरण गराउने राष्ट्र बन्ने पुगेको छ । भारतको यो सफलता अन्तरिक्ष अध्ययन अनुसन्धान क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।

 

भारतले प्राप्त गरेको यो सफलतालई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वीया ज्ञानले विज्ञानको क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गरेको भन्दै भारतीय प्रधानमन्त्री तथा वैज्ञानिकहरुलाई बधाई दिएका छन् ।

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई !’ ओलीले फेसबुकमा लेखेका छन् , ’पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।’

चन्द्रयान–३ ले पृथ्वीबाट ३ लाख ८३ हजार ४ सय किलोमिटरको यात्रा पूरा गरेर चन्द्रमामा पुगेको हो । चन्द्रयान–३ ले चन्द्रमामा पु¥याएको प्रज्ञान रोवर्सले चन्द्रमाका बारेमा सोध गरेर पृथ्वीमा जानकारी पठाउने छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ट्विट गर्दै भारतलाई बधाई दिएका छन् । ’चन्द्रमा चन्द्रयान–३ को सफलतापूर्वक अवतरण गराएको भारतीय जनता तथा भारत सरकारलाई हार्दिक बधाई’ भट्टराईले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय