नेपालीलाई म्यानमारमा बन्धक बनाउने ‘चिनियाँ गिरोह’ नेपालमै

२०८० श्रावण १३, शनिबार
पढ्ने समय : 2 मिनेट

साउन १३
फिरौती तिरेर म्यानमारबाट फर्किएकाहरूले ‘चिनियाँ मानव तस्कर’ को गैरकानूनी धन्दाभित्र कष्टकर र डरलाग्दो दैनिकी बिताउनुपरेको खुलाएका छन्। ‘साइबर स्क्यामिङ’ का लागि २०० भन्दा बढी नेपाली म्यानमारको म्यावडी क्षेत्रमा बन्धक भएको प्रहरीको अनुमान छ।

नेपाली युवायुवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर द्वन्द्वग्रस्त मुलुक म्यानमार पु¥याउन नेपालमै बसेर चिनियाँ गिरोह सक्रिय भएको प्रहरी अनुसन्धानले देखाएको छ। उक्त गिरोहले नेपाली युवायुवतीलाई म्यानमारको विद्रोही जातीय सेनाको अधीनस्थ क्षेत्रमा सञ्चालित अवैध साइबर क्याम्पमा लगी बन्धक बनाएर ठगी कार्यमा लगाउने गरेको अनुसन्धानमा पाइएको छ।

गत असार २८ गते नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चीनको गान्सु प्रान्तका लियाङ जुनलाई काठमाडौंको बिजेश्वरीबाट पक्राउ गरेपछि यो गिरोह नेपालमै सक्रिय रहेको खुलेको हो । उनीमाथि अहिले साइबर अपराध र मानव बेचबिखनको कसूरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार ४२ वर्षीय लियाङ आफूलाई ‘जोन्सन’ भनेर चिनाउँथे। उनी सन् २०१८ देखि नेपाल आउन थालेका थिए। उनी भिजिट, विद्यार्थी र व्यापार भिसामा नेपाल आउजाउ गर्थे। पेशा र उद्देश्य परिवर्तन गरेर उनी नेपालमा आवातजावत गरिरहेका थिए। कृषि, आयात–निर्यात र व्यापार लगायतका पेशा गर्ने बताए पनि उनका गैरकानूनी कार्यबारे भने अध्यागमन विभाग, प्रहरी जस्ता सरकारी निकाय लामो समयसम्म बेखबर जस्तै बने।

युवायुवतीलाई भने शुरूमा लियाङले चिनियाँ दोभाषे मार्फत नेपालीलाई थाइल्यान्डमा ‘कम्प्युटर टाइपिङ’ सम्बन्धी जागीर लगाइदिने प्रलोभन देखाएका थिए।

थाइल्यान्ड पु¥याएपछि त्यहाँबाट म्यानमारको विद्रोही सेनाको कब्जामा रहेको स्थानमा सञ्चालन भइरहेको अवैध साइबर शिविरमा विना पारिश्रमिक काममा लगाउने, ठगी कार्यमा लगाउने, नमाने वा नसकेमा यातना दिने र घर फर्कन खोज्दा पीडितबाटै लाखौं रुपैयाँ फिरौती मागेर बन्धक बनाउने गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले ती युवालाई दैनिक २० घण्टासम्म अनलाइन ठगीमा लगाउने गरेको देखाएको छ। ती अवैध साइबर अखडा चीन, थाइल्यान्ड र म्यानमारको सीमावर्ती क्षेत्रमा रहेको पीडित र प्रहरीले बताएका छन्।

लियाङ सम्मिलित गिरोहले मात्रै कम्तीमा ४० जना नेपालीलाई म्यानमार पु¥याएर अनलाइन ठगीमा लगाएको ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले बताए। श्रेष्ठका अनुसार पक्राउ पर्नुअघि लियाङले नेपालीको नाममा व्यवसाय दर्ता गरेका थिए। ती नेपालीबारे प्रहरीले खुलाएको छैन।

श्रेष्ठका अनुसार लियाङले बिरामी भएको बहाना पारेर सोधपुछमा केही बोलेका छैनन्। यो गिरोहका एक जना थाइल्यान्ड र अर्को एक जना म्यानमारको म्यावडीमा बसेर ठगी चलाइरहेको जाहेरीकर्ताले प्रहरीलाई बताएका छन्। अनुसन्धानबाट पनि थाइल्यान्ड बस्नेले नेपाल लगायत अन्य देशबाट त्यहाँ पठाइएकाहरूलाई ‘रिसिभ’ गरेर म्यानमार पठाउने गरेको खुलेको श्रेष्ठले बताए। अर्का एक जनाले म्यानमारबाटै अवैध गतिविधि सञ्चालनमा सघाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय