असार ५
फ्रेन्च एरोस्पेस जायन्ट एयरबसले अहिलेसम्मकै ठूलो एयरक्राफ्ट डिल गरेको छ। कम्पनीका अनुसार भारतको बजेट एयरलाइन्स इन्डिगोले सन् २०३० देखि २०३५ भित्र डेलिभरी दिने गरी पाँचसय वटा ए थ्रिट्वान्टी जहाजको सम्झौता गरेको हो।
यो डिल व्यावसायिक हवाई उडानको क्षेत्रमा कुनै पनि एक्लो कम्पनीले हालसम्म गरेको एकल खरिद सम्झौतामध्ये सबैभन्दा ठूलो भएको बताइएको छ। एयरबसका कुल १३३० वटा जहाज इन्डिगोले लिने बताइएको छ।



पेरिस एयर शोका क्रममा कम्पनीका सहसंस्थापक राहुल भाटियाले एयरबससँग यो सम्झौता गरेका हुन्। १८ वर्षअघि उनले यसै प्लाटफर्ममार्फत पहिलोपटक कम्पनीको लागि जहाज किनेका थिए।
सन् २००६ मा स्थापना भएको इन्डिगो बजार हिस्साका आधारमा भारतकै टप एयरलाइन कम्पनी भएको उसको वेबसाइटमा उल्लेख छ। उसको आन्तरिक बजार हिस्सा ६० प्रतिशत रहेको बताइएको छ। सन् २०३० सम्म उसले आफ्नो फ्लिट साइज दोब्बर बनाउने योजना अनुरुप काम गरिरहेको बताइएको छ।
गत वर्ष यसले ८ करोड ६० लाख यात्रुलाई सेवा दिएको छ। हाल कम्पनीलाई पहिलेकै सम्झौता अनुसार एयरबसले ४८० वटा जहाज डेलिभर गर्न बाँकी नै छ। हालको नयाँ अर्डरले कम्पनीलाई आगामी दिनमा अझ बढी आक्रमक रुपमा हवाई क्षेत्रमा स्थापित हुन सघाउने कम्पनीले जनाएको छ। यस डिलका लागि कम्पनीले ७० अर्ब डलर लगानी गर्ने बताइएको छ।
भारतको बलियो अर्थतन्त्र तथा बढ्दो जनसंख्याका बीच हवाई उड्डयन कम्पनीहरु बजार हिस्सा लिन लालायित देखिन्छन्। यसैको परिणामस्वरुप हवाइ कम्पनीहरुले भविष्यका लागि आवश्यक पर्ने हिसाबले नयाँ जहाजहरु किन्नेतर्फ योजना बनाएका हुन्। गत फरवरीमा इन्डिगोको कडा प्रतिस्पर्धी कम्पनी एयर इन्डियाले एयरबस र बोइङसँग ४७० भन्दा बढी जेट अर्डर गरिसकेको छ।



