फागुन, ११
साझा यातायात ले पहिलो चरणमा परीक्षणका लागि तीन वटा बिजुली बस काठमाडौं ल्याउने भएको छ । चीनको नयान्जिंगस्थित सीएचपीसी कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भइसकेको साझा यातायात का अध्यक्ष कनकमणि दिक्षितले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनका अनुसार आगामी चैतभित्रै ती बस काठमाडौं आइपुग्ने छन् । उपत्यकाका सडकमा प्रशिक्षण सफल भएपछि बाँकी ३७ वटा पनि आउने उनले जानकारी दिएका छन्।



सीचएपीसी का बस नेपालमा ‘दि गो’ नामको कम्पनीले ल्याएर बिक्री गर्ने गरेको छ । सीएचपीसी सँग साझा ले प्रतिबस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो ।
साझा ले ४० वटा बसमा ६१ करोड खर्चिंदै छ । पहिलो चरणमा ९ मिटर लामो बस किन्न लागिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना रहेको छ ।
अब २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आउनेछन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधा सहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।
बस विक्रेता कम्पनीले चार्ज सहित ५ वर्षको सबैखाल को मर्मतको सुविधा पनि दिनुपर्ने गरी खरिद सम्झौता भएको छ ।
सरकारले २०७५ पुस ९ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । २०७६ साउन मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।
स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीँ रोक्नू’ भन्दै पत्र काटेको थियो । भने त्यसको चार महिनापछि २०७६ माघमा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।
तर, २०७७ माघमा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बाग्मती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।
सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो ।
‘लुम्बिनी बिकास कोषले मगाएको तीन बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लगेको थियो । तीन वर्ष अघि उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन,’ दिक्षित ले भनेका छन्,’बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उद्घाटन गरेका थियौं त्यतिबेला, तर अड्को आइलाग्यो, यसपाली साझाको आफ्नै बस आउँदैछन, उत्साहित छौं ।
सरकार कै बहुमत सेयर रहेको साझा यातायात सहकारी सँग अहिले ७१ वटा ठूला बस छन् ।



