बैशाख २०
जिल्लादेखि सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटनाको खुलासा भएको छ ।
सो नाकाबाट भन्सार छलेर विगत एक सातादेखि ठूलो परिणामको चाइनिज स्याउ भारत तस्करी भइरहेको सूचना सशस्त्र प्रहरी नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले पाए ।



पूर्वीका सीमा नाकाहरूबाट हुने चोरी तस्करी रोकथाम तथा नियन्त्रण अभियानमा लागेका डीआइजी पोखरेलले झापाबाट ठूलो परिणामको स्याउ तस्करी भइरहेको विषयमा सुइँको समेत पाएनन् । कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको सूचना डीआइजी पोखरेलले आइतबार मात्र पाए ।
सूचना पाए लगत्तै डीआइजी पोखरेलको ठाडो निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले कचनकवल–४स्थित पूर्वी लोदावारी नाकाबाट आइतबार बेलुका मे१ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजी स्याउ बरामद ग¥यो ।
फुजी स्याउसहितको गाडी लोदावारी नाकाबाट कादोगाउँ हुँदै भारत लैजाने तयारी थियो । दुई वटा गाडीमा स्याउ लोड गरिएको थियो । एउटा गाडी त्यहाँबाट सशस्त्रले भगाइदिएको स्रोतको दाबी छ । गाडीमा कहाँबाट कसरी स्याउ आयो भन्दै डीआइजी पोखरेलले सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई थप अनुसन्धान गर्न लगायो । डीआइजी पोखरेल समेत घटनास्थल पुग्यो । अनुसन्धानको गर्ने क्रममा कचनकवल–४ पूर्वी लोदावारीस्थित जयनारायण साहको गोदाममा ठूलो परिणामको स्याउ रहेको पत्ता लाग्यो । साहको गोदाम सीमा पिलर ११८ र ११९ नजिकै पर्छ ।
त्यसपछि डीआइजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीलाई सोमबार घटनास्थल बोलायो । राजश्वको टोलीले कानूनी प्रक्रिया पूरा गरी साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद ग¥यो ।
बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्व बुझाएको डीआइजी पोखरेलले बताए । सशस्त्रले प्रतिकार्टुन १७ सय मूल्याङ्कन तोकेर बुझाएको फुजी स्याउको नेपाली बजार मूल्य ४२ सयदेखि ४४ सय रुपैयाँ पर्छ ।
जिल्लाको सीमा नाकाहरूबाट भित्र्याइएको खाद्यान्न सामाग्री समेत नछाड्ने सशस्त्र र नेपाल प्रहरीले कचनकवल नाकाबाट चाइनिज स्याउको लाइन खुलाएको घटनाले सर्वत्र चर्चाको विषय बनेको छ ।



