बैशाख १४
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ ।



पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार–गोष्ठीमा बोल्दै उहाँले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,’कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने लगायतको काम गरिरहेको छ।’
उहाँले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोह¥याउनु भयो ।
त्यस्तै गोष्ठीमा सहभागी पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाउनु भयो।
उहाँले भन्नुभयो,’चीनले नेपाललाई श्रीलंका बनाउनु खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’
त्यसैगरी समाजसेवी आनन्द राज मुल्मीले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चीनले बीआरआईमार्फत नेपाललाई ऋण को जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,’चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।’
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले पछिल्लो समय नेपालको भूभाग पनि मिचेको समाचार पत्र पत्रिकामा पढिरहेको बताउनु भयो । उहाँले चिनियाँ नागरिक ले नेपालमा अवैध गति विधि गरेको देशको सुरक्षा नै खतरामा परेको बताउनु भयो ।
कार्यक्रमको सहजीकरण समाजसेवी एवं नेपाली कांग्रेस स्याङजाका पूर्व सभापति बुद्धि रानाले गरेका थिए। हिन्दू स्वमसेवक संघका व्यवस्था प्रमुख अनिल गुप्ता तथा हरिहरनाथ मुक्तिनाथ यात्राका प्रभारी अनूप कुमार अतिथिको रुपमा उपस्थित रहेका थिए ।



