चीनबाट प्रचण्ड र देउवासँग वर्षमानको फोन संवाद जनपक्षीय काम गर्न सुझाव

२०७९ चैत्र ७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

चैत ७ ,
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन्।

पूर्वअर्थमन्त्री पुनले प्रचण्डसँग सोमबार र देउवासँग मंगलबार संवाद गरेको उनको सचिवालयले जनाएको छ।
नेता पुनले संसदका झण्डै दुईतिहाइ सदस्यले विश्वासको मत दिएकोमा प्रधानमन्त्रीलाई बधाई समेत दिएका छन ।
दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षा अनुसार सुशासन, विकास र रोगजारी श्रृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए।

‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन्।’

देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेण्डा लिएर जनतामा गएका दलहरु एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै उनले खुसी व्यक्त गरे।

उनले प्रमुख दुई नेता गठबन्धनका दलहरु मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे।
जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरुले आश्वस्त तुल्याउने बताए।

प्रचण्ड र देउवा दुवैले पुनको स्वास्थ्यलाभको कामना गर्दै छिट्टै निको भएर फर्कन भनेका छन्।
जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुन ब्यथा बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए।

४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट निर्वाचित पुन अस्वस्थताका कारण मत माग्न जान सकेका थिएनन्।

उनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। पारिवारिक श्रोतका अनुसार पुनको स्वास्थ्यमा चमत्कारिक सुधार भएको छ।

उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर ३.५ बिन्दुमा झरेको छ।

सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरु बताउँछन्।

तर, पुनको शरीरमा कम्तिमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुने गरेको छ।

स्वास्थ्यमा सुधार भइरहे पनि चिकित्सकले बिलरुबिनको मात्रा २ बिन्दुमा झारेपछि नेपाल फर्कन भनेको परिवारका सदस्यहरुले बताएका छन्। पुनको साथमा पूर्वसभामुख समेत रहेकी पत्नी ओनसरी घर्ती छिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय