बीआरआईको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा ः उपप्रधानमन्त्री श्रेष्ठ

२०७९ चैत्र २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

चैत २,
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन नेपालको पक्षमा रहेको बताएका छन् । नेपाल सरकार बीआरआई परियोजनाको सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको पनि उनले बताए र
काठमाडौंमा बिहीबार आयोजना गरिएको ’चाईना बेल्ट एन्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले बीआरआई परियोजनाको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको पनि बताए ।
’नेपाल बीआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको छ । हालसम्म केही ढिलाइ भए पनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बीआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुनेछ भन्नेमा हामी आशावादी छौँ । नेपाल सरकार बीआरआईको सफल कार्यान्वयनमा दृढ रहेको छ,’ उनले भने, ’बीआरआईको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको आत्मसात् गर्दै त्यसअन्तर्गतको कार्यक्रम र परियोजनाहरूलाई सरकारको तर्फबाट सहयोग र सहजीकरण गरिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बीआरआई अन्तर्गत ठूला पूर्वाधारको विकासमा सहयोग अपेक्षा गरेको बताए । बीआरआईअन्तर्गत कस्ता परियोजना अगाडि सार्ने र कस्तो मोडालिटी अपनाउने भन्ने विषयमा छलफल गर्न सरकार तयार रहेको पनि उनले बताए ।

त्यस्तै, नेपालले एक चीन नीति लिएको पनि उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । ’नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको कुरा दोहो¥याउन चाहन्छु । पछिल्लो समयमा विश्व राजनीतिमा भइरहेका अभूतपूर्व परिघटनाहरूलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौं । नयाँ विश्व व्यवस्थातर्फ उन्मुख अहिलेको समय अति नै गम्भीर रहेको मैले ठानेको छु । नेपालप्रति चीनले व्यक्त गरेको सद्भाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले नेपाल–चीन सम्बन्ध पारस्पारिक, मैत्रीपूर्ण र सुमधुर रहेको पुष्टि गर्दछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय