माघ २९
राष्ट्रिय एकता अभियान धनुषा र रुपन्देहीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी आयोजना गरेको छ । जनकपुरमा आयोजित विचार गोष्ठी कार्यक्रमकी प्रमुख अतिथि अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताइन् ।
साहले ‘छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्ने बताइन ।
कार्यक्रममा वक्ताहरुले दुई देशबीच खुला सीमाना रहेको बताउदै दुवै देशका तीर्थस्थलमा दुवै देशका जनता आउने जाने गर्ने गरेको बताएका छन । भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी, यातायात, दूरसञ्चार, ऊर्जालगायत क्षेत्रमा सहयोग गर्दै आएको बताइएको छ । रोड, रेलवे यसको पछिल्लो उदाहरण हो । विगत का केही वर्ष देखी नेपालमा भारत विरोधी गतिविधि भइरहेको हुदा यो रोकिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।
डा वीरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दी अभियन्ता तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता रमण पाण्डे, जनकपुरधाम नागरिक समाजका संयोजक मुरली मनोहर मिश्र, मारबाडी सेवा समिति जनकपुरधामका महासचिव प्रमोद अग्रवाल, हिन्दू सम्राट सेनाका अध्यक्ष प्रमोद अग्रवाल लगायतको सहभागिता रहेको थियो । त्यस्तै राजेश यादव, ज्ञानेन्द्र यादव लगायतका विभिन्न व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।



त्यस्तै रुपन्देहीमा आयोजित विचार गोष्ठी कार्यक्रमका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
उनले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरेका थिए । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल(भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।
कार्यक्रममा अतिथिको रुपमा मनीष लोध, बिंध्याचल चौधरी, रणजीत यादव, राम अवध पासी, अजय गुप्ता लगायतले आ आफ्नो भनाई राखेका थिए ।



