माघ १३,
कोभिड–१९ संक्रमणपछि फेरि पर्यटकीय गन्तव्यमा नेपाललाई राख्न सरकारले चीनसँग आग्रह गरेको छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार पर्यटन सचिव सुरेश अधिकारीले चिनियाँ पक्षलाई पत्राचार गर्दै नेपाललाई पर्यटकीय गन्तव्यमा राख्न अनुरोध गरेका हुन ।
चीनले कोभिड–१९ का कारण करिब दुई वर्षपछि आफ्ना नाकाहरूलाई खुला गरेको छ । नाका र हवाई सम्पर्क खुलाए पनि चीनले पर्यटकका रूपमा आफ्ना नागरिक पठाउन एडीएस ( डेस्टिनेसन स्टाटस) मा नेपाललाई राखेन । यही कारण नेपालमा चिनियाँ पर्यटक आएनन । कोभिड–१९ पछि पर्यटक पठाउन नेपालले आग्रह नगरेको चीनको भनाइ थियो ।
‘नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा नराखेको विषयमा हामीले चिनियाँ पक्षसँग सोधेका थियौं,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘चिनियाँ अधिकारीहरूले अन्य देशले आग्रह गरेपछि मात्र सूचीमा राखेको बताउँदै नेपालले पनि आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने जानकारी दिए ।’ त्यसपछि पर्यटन सचिव अधिकारीले चिनियाँ पक्षलाई सम्बोधन गरेर नेपालमा पर्यटक पठाउन आग्रह गरेका हुन ।






