अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड अर्को साता नेपाल आउँदै

२०७९ माघ ११, बुधबार
पढ्ने समय : < 1 मिनेट

माघ ११,

अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउँदै छिन् । परराष्ट्र स्रोतका अनुसार नुल्यान्डले माघ १५ र १६ मा नेपालको भ्रमण गर्ने तय भएको छ ।
पुस १३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा नयाँ वामपन्थी सरकार बनेपछि विदेश मुलुकबाट नेपालमा हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।
उपमन्त्री नुल्यान्ड बदलिँदो भूराजनीतिक परिवेशमा नेपालको भ्रमण गर्दै यहाँको वस्तुस्थिती बुझ्न र नयाँ सरकारसँग सहकार्य गर्नका लागि आउन लागेको परराष्ट्रका एक अधिकारीले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतलाई भेट्ने छिन् । स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने बारेमा भने टुंगो लागिसकेको छैन ।

नेपालमा सरकार गठनलगत्तै प्रधानमन्त्रीको दुई छिमेकी मुलुकहरू भारत र चीन भ्रमणको विषयमा बहस भइरहेको बेलामा अमेरिकाबाट भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने भ्रमणको बारेमा गृहकार्य भइरहे पनि मितिको सम्बन्धमा अन्तिम टुंगो लागिनसकेको बताइन् ।

स्रोतका अनुसार अमेरिकी उपमन्त्री नुल्यान्डको भ्रमणको विषयमा आज वा भोलिसम्म वासिङ्टन डीसीबाटै विज्ञप्ति जारी गरी भ्रमणको जानकारी सार्वजनिक हुनेछ ।

 

परराष्ट्रका एक अधिकारीका अनुसार यो भ्रमणमा मुख्य गरी अमेरिकाको अनुदान सहयोगमा अघि बढेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) को सहयोगमा भइरहेको कामको बारेमा छलफल हुनेछ । साथै, उपमन्त्री नुल्यान्डले नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि नियोग (यूएसएआईडी) मार्फत भइरहेका र भविष्यमा हुने प्रस्तावको बारेमा पनि छलफल गर्नेछिन् ।

साथै, भेटवार्ताहरूमा अमेरिकी मन्त्री नुल्यान्डले अमेरिकाको प्राथमिकतामा रहेका विषयहरु मानव अधिकार, प्रजातन्त्र, शरणार्थीलगायत विषयमा कुरा गर्ने अनुमान गरेको परराष्ट्रका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय