पुस २४,
— लकडाउनका कारण २०७६ चैतदेखि रोकिएको चीन हुँदै अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोप लगायतमा मुलुक छिर्ने हवाई ’ट्रान्जिट’ आइतबार देखि खुला भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, चीनको सरकारी ध्वजाबहाक वायुसेवा एयर चाइनाले चीन हुँदै तेस्रो मुलुक जाने नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय हवाई रुट खुला गरेको सूचना काठमाडौंमा रहेका आफ्ना ट्राभल एजेन्ट र सरोकारवालालाई पठाएको छ । यो निर्णयले मलेसिया, हङकङ, श्रीलंका, भारत, दोहा, दुबई, टर्कीको बाटो हुँदै एकतर्फी कम्तीमा डेढ लाख रुपैयाँ हवाई भाडा तिर्ने नेपाली विद्यार्थी, कामदार, अभिभावकलाई सस्तो र सहज हुने छ ।
‘काठमाडौंबाट छेुन्दु हुँदै चीनका सबै सहर र अरु अन्तर्राष्ट्रिय रुट एयर चाइनाले खुला गरेको छ,’ सहायक प्रवक्ता भुलले भने,‘अब त्यहाँ क्यारेन्टाइन बस्नुपर्ने नियम लगायतका अन्य कोभिड प्रोटोकल नभएको काठमाडौंमा रहेको एयर चाइनाको प्रधान कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ ।’



पर्यटन व्यवसायीहरुले चीनले ट्रान्जिट खोल्दा नेपाली यात्रुलाई सहज र सस्तो हुने बताएका छन् । ‘अहिले पूर्वी र मध्यपूर्वी मुलुकहरुका सीमित वायुसेवाबाट यात्रुले एकतर्फी महँगो टिकटमा उड्नु परिरहेको थियो, चीनबाट पनि विदेश जान पाइने भएपछि नेपालीलाई सस्तो र सुलभ पर्छ । च्वाइस पनि बढ्छ,’ अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीमा अग्रणी मानिएको आशो वर्ल्ड ट्राभलका प्रबन्ध निर्देशक श्यामराज थपलियाले भने ।
हाल चीनको व्यापारिक सहर ग्वाङझाउबाट चाइना साउर्दनले सातामा एक दिन मंगलबार उडान गर्दै आएको छ । आइतबार देखि एयर चाइनाले सातामा एक दिन आइतबार छेन्दु–काठमान्डु उडान खुला गरेको छ ।
२०७६ चैतअघि चीनको कुन्मिङबाट चाइना इर्स्टन, ल्हासा र छेन्दुबाट एयर चाइना, सिचुवान, सीयान र छेन्दुबाट तिब्बत एयरलायन्स, ग्वाङझाउबाट चाइना साउर्दन र हङकङबाट क्याथेले गरी सातामा ६ वटा वायुसेवाले ६१ वटा व्यवसायिक उडान गर्थे । लकडाउनपछि यी सबैका व्यावसायिक उडान रोकिएका थिए ।
चीनका वायुसेवाले मेडिकल लगायतका व्यापारिक चार्टर उडान गरेपनि त्यहाँ लकडाउन नै भएकाले मंसिरअघिसम्म चीनबाट नेपालमा नियमित उडान भइसकेका थिएनन् ।
कोभिडको डेल्टा भेरियन्ट देखापरेपछि सुचारु हुन लागेका उडान चीनले पुनः बन्द गरेको थियो । त्यसको १९ महिनापछि मंसिर १३ देखि चीनले नेपालमा ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडान मात्रै खुला गर्ने पहिलो निर्णय गरेको थियो । तर, आइतबार देखि अब चीनका जुनसुकै सहर र त्यसबाहिरका अन्तर्राष्ट्रिय रुटमा नेपाली यात्रुका लागि बाटो खुला भएको छ ।



