भारतले फुकुवा गरे लगत्तै वीरगन्ज नाकाबाट धान–चालमको आयात बढ्यो

२०७९ मंसिर १८, आईतवार
पढ्ने समय : 2 मिनेट

मंसिर १८,

वीरगन्ज नाकाबाट धान र चामलको आयात ह्वात्तै बढेको छ । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिए लगत्तै भारतबाट यसको आयात सुरु भएको हो ।

 

एकीकृत सुरक्षा जाँच चौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिको तथ्यांक अनुसार मंसिर ५ देखि बिहीबार सम्मको अवधिमा यो नाका हुँदै १ हजार ७ सय ९४ ट्रक धान र चामल भारतबाट आयात भएको छ । जसमा १ हजार ७ सय ९४ ट्रक धान र २३ ट्रक चामल छन् । बिहीबार एकै दिन २ सय ५ ट्रक धान आयात भएको थियो ।

इन्टर मोडलका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले धान चामलको आयात बढेपछि यो नाका हुँदै दैनिक भित्रिने मालबाहक सवारीको संख्या नै बढेको बताए । ‘यसअघि दैनिक ४ सय देखि ४ सय ५० को हाराहारीमा मालबाहक सवारी साधन दैनिक भित्रिने गरेको थियो,’ उनले भने, ‘डेढ सातायता भने दैनिक ५ सय देखि ५ सय ५० को हाराहारीमा मालबाहक सवारी भित्रि रहेका छन् ।’

भारतले नेपालतर्फ धान र चामलको निर्यात खुल्ला गरे लगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले जानकारी दिए । ‘भारतले निर्यात फुकुवा गरे लगत्तै यो नाकाबाट धान र चामल दुवैको आयात बढेको हो, भारतले पुनः निर्यातमा रोक लगाउने आशंकाले व्यवसायीहरुले हतारमा आयात गरेर भण्डारण गरी राखेको हुन सक्छ,’ उनले भने, ‘तर धानको आयातबाट राजश्वमा खासै योगदान भने हुँदैन, धानको आयातमा कृषि सुधार शुल्क ५ प्रतिशत मात्रै लाग्छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन मात्र धान चामलको निर्यात फुकुवा गरेकाले व्यवसायीले हतारमा धान चामल आयात गरिरहेको बताए । ‘नेपालका अन्य नाकाबाट पनि धान चामल भित्रि रहेकाले व्यवसायीले भारतको कोटा सक्किने र भारतले जुनसुकै बेला पनि निर्यातमा रोक लगाउन सक्ने आशंकाले व्यवसायीले हतार गरेका हुन्,’ उनले भने, ‘गत वर्ष भारतले साढे ५ लाख मेट्रिक टन कोटा नेपाललाई दिएको थियो ।’ यस वर्ष सिजनमै धान आयात गर्न पाएपछि व्यवसायीलाई धेरै राहत भएको गुप्ता बताउँछन् । भारतको धान र स्वदेशी धान समेतले नेपालको वर्षभरिको माग धान्न सक्ने र यसो हुँदा चामल महँगो समेत नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय