बेइजिङमा श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव मनाइँदै

२०७९ कार्तिक २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २१
— नेपाल–चीन मित्रताको ऐतिहासिक साक्षी मानिएका नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव बेइजिङमा विभिन्न साताव्यापी कार्यक्रम गरेर मनाइँदै छ । बेइजिङस्थित नेपाली राजदूतावास, बेइजिङ नगरपालिका सिछङ जिल्ला, बेइजिङ नगरपालिका सांस्कृतिक सम्पदा ब्युरो, चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङ नगर किमिटीका प्रचार विभागका नेताहरू, चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनलगायतका प्रतिधिनिहरूको सहभागितामा सोमबार उद्घाटन गरिएपछि साताभरि विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् ।

साप्ताहिक कार्यक्रमहरूमा नेपाल–चीन सांस्कृतिक आदानप्रदान सम्बन्धित गतिविधि रहेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले बताए । महोत्सव अवधिमा श्वेतचैत्य परिसरमा कलाकृति प्रदर्शनीहरू, नेपाली काष्ठकला, हस्तकलाका साथै पेन्टिङहरू देखाइने, स्थलगत प्रत्यक्ष चित्रकला कोरिने, गोष्ठी सम्मेलन गरिने पनि उनले जानकारी दिए । महोत्सव अवधिमा ललितपुरको पाटन सङ्ग्रहालय र श्वेतचैत्य व्यवस्थापन कार्यालय बेइजिङबीच समझदारी (एमओयू)मा हस्ताक्षर गर्ने कार्यक्रम छ। श्वेतचैत्य निर्माणका सिलसिलामा प्रयोग भएको कलाशिल्प तथा नेपाली कलाशैलीद्वारा मठमन्दिर निर्माणलगायत डिजिटल भिडियो प्रदर्शनी गर्ने कार्यक्रम पनि राखिएको छ ।

श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव यसअघि नै आयोजना गर्ने तयारी भए पनि कोभिड १९ महामारीका कारण स्थगित गरिएको थियो । यो चैत्य १३औं शताब्दीमा युआन राजवंशकालमा बनिएर हालसम्म पनि संरक्षित ऐतिहासिक धरोहर हो । चीनमा रहँदा कलाकार अरनिकोले लगातार ४० वर्षजतिमा ऐतिहासिक सम्पदा निर्माण गरेर नेपाल–चीन मित्रताका प्रमाणहरू छाडेको चिनियाँ इतिहासकारहरु बताउँछन् ।

चीनको राजधानी बेइजिङको सी छङ् जिल्लास्थित फुछङमन् उत्तरी मार्गमा यो अवस्थित छ । करिब ५१ मिटर मा भएको तत्कालीन राजधानी तातुको सर्वाधिक अग्लो टावरलाई कलाकार अरनिकोले सन् १२७१ मा बनाउन सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय