कात्तिक १५ ,
नेकपा माओवादी केन्द्रले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ।
निर्वाचनलाई लक्षित गरेर तयार पारिएको घोषणा पत्रमा माओवादीले भारतद्वारा अतिक्रमित नेपाली भूमिका लागि कूटनीतिक पहल गर्ने प्रतिवद्धता जनाएको हो।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको अतिक्रमित नेपाली भूमि फिर्ताको लागि अविलम्ब कुटनीतिक पहल गरिने छ,’ माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा भनिएको छ।



माओवादी केन्द्रले नेपाल र भारतबीचको खुला सिमानालाई नियन्त्रण र नियमन गरिने पनि घोषणा पत्रमा उल्लेख गरेको छ।
घोषणा पत्रमा फरक–फरक समयमा भएका अन्तराष्ट्रिय सन्धि–सम्झौताहरु राष्ट्रिय स्वार्थ र हित अनुकूल बनाइने पनि प्रतिवद्धता जनाइएको छ।
‘सन् १९४७ को गोरखा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धि, सन् १९५० को नेपाल र भारतबीचको शान्ति र मैत्री सम्बन्धी सन्धि, भारतसँगको जलस्रोतसम्बन्धी र व्यापार तथा पारवहन लगायत सम्पूर्ण असमान सन्धिहरूको पुनरावलोकन गरी खारेजी, प्रतिस्थापन वा संशोधन–परिमार्जनद्वारा राष्ट्रिय स्वार्थ र हित अनुकूल बनाइने छ,’ घोषणा पत्रमा भनिएको छ।



