कात्तिक १५ ,
चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनलाई अमेरिकाले चीनलाई नियन्त्रण गर्ने तथा दबाउने प्रयास छाड्नुपर्ने बताएका छन्। पोलिट्ब्युरोमा बढुवा भएपछि वाङले पहिलो पटक अमेरिकी विदेशमन्त्रीसँग टेलिफोन कुराकानी गरेका हुन्।
वाङले अमेरिकाले चीनमाथि लगाएको निर्यात प्रतिबन्धले बेइजिङको वैध अधिकारलाई घातक धक्का लागेको भन्दै त्यसलाई हटाउनुपर्ने पनि बताएको चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई मन्त्रीबीच युक्रेन युद्ध र त्यसले विश्व सुरक्षा तथा आर्थिक स्थायित्वमा पार्ने प्रभावबारे पनि छलफल भएको थियो। त्यस्तै उनीहरुले हाइटीका विषयमा पनि कुराकानी गरेका थिए।



तर, पछिल्लो समय दुई मुलुकबीचको सम्बन्धमा फाटो ल्याउने विषय ताइवान भने दुवैतर्फको विज्ञप्तिमा उल्लेख छैन। अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि उनीहरुबीच तिक्तता बढेको थियो।
हालै अमेरिकाले जारी गरेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिमा उसले चीनलाई आफ्नो सबैभन्दा ठूलो भूराजनीतिक चुनौती घोषित गरेको छ। त्यस्तै, अमेरिकाले महत्वपूर्ण सामान र प्रविधि चीनमा निर्यात गर्न पनि प्रतिबन्ध लगाएको छ।
तर, दुई सातापछि इन्डोनेसियाको बालीमा जी २० मुलुकको शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन दुवै सहभागी हुँदैछन्। उनीहरुबीच भेट हुनसक्ने आकलन पनि गरिएको छ।
अहिले वाङ र ब्लिन्केनको टेलिफोन वार्ताले सो आकलनलाई झनै बल दिएको छ। एजेन्सी



