कार्तिक १४
नेकपा एमाले ले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी ‘आक्रामक’ चुनावी अभियान थाल्ने भएको छ। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्नेछन् ।
ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गरेको विषयलाई उपलब्धिका रुपमा लिँदै एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । केन्द्रीय निर्वाचन परिचालन कमिटीले करिब ४० जिल्लाका चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम राखेको छ । पश्चिमबाट सुरु हुने ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुनेछ ।
‘दिनहुँ कम्तीमा तीनवटा जिल्लाका चुनावी कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुनेछ,’ एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘यो केन्द्रले आयोजना गरेको कार्यक्रम हो । स्थानीय कमिटीहरुले आफ्नो आवश्यकता अनुसार चुनावी कार्यक्रम आयोजना गर्नेछन् ।’
एमालेले सत्ता गठबन्धनविरुद्ध चुनावी अभियान तीव्र पार्ने रणनीति बनाएको छ । उसले खासगरी परमादेशबाट निर्माण भएको सरकारका गतिविधिलाई मुख्य निशाना बनाई अभियान थाल्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका कमजोर आर्थिक वृद्धि, सत्ता सञ्चालनमा देखिएको बेथितिलगायतलाई मुख्य मुद्दा बनाउने जनाएको छ । ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा, आर्थिक अवस्था र विकास निर्माणलाई उपलब्धिको रुपमा लिँदै एमालेले गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ ।



एमालेले तय गरेको कार्यक्रम अनुसार पहिलो दिन दार्चुलाका अतिरिक्त बैतडी र कञ्चनपुरका चुनावी कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् । ‘पहिलो दिनको कार्यक्रम तय भए पनि जिल्लाहरुलाई के–कस्तो कार्यक्रम आयोजना गर्ने हो भनेर जानकारी माग गरेका छौं, ढिलोमा १६ गतेसम्म कुन–कुन स्थानमा आमसभा हुन्छ भनेर सार्वजनिक गर्नेछौं,’ रिजालले भने ।
एमालेले चुनावी अभियान सुरु गर्नुअघि मंगलबार घोषणापत्र सार्वजनिक गर्दैछ ।
एमालेले प्रधानमन्त्री उम्मेदवार घोषणा गरेका अध्यक्ष ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनावका विषयवस्तुमाथि ‘लाइभ डिबेट’ गर्न चुनौती दिएका थिए, जसको सामाजिक सञ्जालसहित सञ्चारमाध्यमहरुमा चर्चा भएको थियो । यसबीचमा ओलीले मतदातासँग नम्बर मागेर उनीहरुका प्रश्नको उत्तर दिनेदेखि आफूसँग खिचेका सेल्फी सामाजिक सञ्जालमा राख्नेसम्मका काम गरेका थिए । ‘यी सबैलाई मतदातासँग प्रत्यक्ष रुपमा सम्पर्क बनाउने माध्यमको रुपमा हामीले प्रयोग ग¥यौं,’ रिजालले भने, ‘यसपटक सामाजिक सञ्जालको प्रयोग व्यापक रुपमा बढ्यो । जसबाट बढीभन्दा बढी मतदातामा पुग्न सकिन्छ, त्यसलाई उपयोग गर्ने नीति छ ।’ सामाजिक सञ्जालको प्रयोग उम्मेदवार र स्थानीय कमिटी तथा केन्द्रले फरक–फरक रुपमा गर्दै आएका छन् ।
राप्रपा, जसपा र अन्य साना दलसँग तालमेल गरेको एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ४१ क्षेत्रमा उम्मेदवार उठाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका छन् भने जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले सघाउने भएको छ । चुनाव परिचालनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कमिटी गठन भएको छ भने त्यसको ३४ सदस्यीय सचिवालय निर्माण गरेको छ । पार्टीका उपमहासचिव विष्णु रिमाल दुवै कमिटीको सचिव छन् । उनकै नेतृत्वमा चुनाव परिचालन भइरहेको छ ।



