असोज २८
– रुपन्देही क्षेत्र नम्बर–३, बाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशव विक्रम खड्काले आफ्नो एजेण्डा मुुलुक निर्माण भएको बताएका छन् । राजनीतिक दलका उम्मेदवारको एउटै लक्ष्य मुलुक निर्माण नभएर सत्ता प्राप्ती मात्र भएको उनले बताए।
‘मेरो र अरु उम्मेदवारको एजेण्डा नै मेल खाँदैनन्, मेरो लक्ष्य मुलुक निर्माण हो । अरु उम्मेदवारको सत्ता प्राप्ती हो,’ लुम्बिनी प्रेस क्लबमा आयोजित उम्मेदवारसित साक्षात्कार कार्यक्रममा उनले भने, ‘त्यसैले मेरो कसैसित प्रतिष्पर्धा छैन, मेरो जित सुनिश्चित छ ।’



दलहरुले भ्रष्टाचार र मनपरि शासन सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि आफू निर्वाचनमा होमिएको जानकारी गराए । ‘ऋणमा कुखुरा पालन सुरु गरेको मान्छे हुँ,’ उनले भने, ‘अहिले पोल्ट्री क्षेत्रमा सानो साम्राज्य नै बनेको छ, यसैबाट मेरो मिहेनत र लगन प्रष्ट हुन्छ ।’
आफूले राज्यलाई कर तिरेर बैधानिक आम्दानी गरिरहे पनि भ्रष्टाचारी र स्वेच्छाचारीको बोलबाला भएकाले मुुलुक बचाउन र सुशासन कायम गर्न अवकाश लिने उमेरमा राजनीति सुधारका लागि निर्वाचनमा उम्मेदवार बनेको उनले बताए ।
दुई महिना अघि उम्मेदवारी घोषणा गरिसकेका भैरहवाका उद्योगीसमेत रहेका खड्काले निर्वाचन आयोगबाट क्रस खुकुरी चुनाव चिन्ह प्राप्त गरेका छन् ।
निर्वाचनमा होमिएपछि आफूले सोचेभन्दा धेरै जनताको माया प्राप्त गरिरहेको जानकारी उनले दिए । ‘अहिले ठाउँ–ठाउँबाट फोन गरेर भेटघाटका लागि स्थानीयले बोलाइ रहनुभएको छ,’ उनले भने, ‘भेटघाटमा तपाइँ जस्तो मानिस ढिलो मैदानमा आउनु भो भन्नुहुन्छ । ढिला भए पनि मेरो देश बनाउने अठोट । यसपटक मैले जित्छु, अर्को चुनावमा स्वतन्त्रको सरकार बनाउँछु ।’
आफूले लामो समयदेखि यू–ट्युव र विभिन्न सामाजिक सञ्जाल मार्फत नागरिकसित साक्षात्कार गरिरहेकाले अपरिचित नरहेको उनले दाबी गरे ।
प्रतिनिधिसभामा उम्मेदवार बनेका व्यक्ति विभिन्न काण्डमा मुछिएको उल्लेख गर्दै उनले भने, ‘दुई हजारको कसुर भएकाको उम्मेदवारी खोसियो, ललिता निवासको जग्गा विक्रि अभियोग लागेकालाई उन्मुक्ति मिल्यो ।’ आफू बिजयी भएपछि सबैका लागि कानुन बराबार लागू हुने बनाउन भूमिका खेल्ने खड्काले बताए ।



