महाकालीमा १ सय १० मिटर लामो नेपाल–भारत जोड्ने मोटरेबल पुल बन्ने उत्तराखण्डका मुख्यमन्त्री धामी र उद्योगमन्त्री बडूले गरे शिलान्यास

२०७९ आश्विन ३, सोमबार
पढ्ने समय : < 1 मिनेट

असोज ३ ,
दार्चुलामा महाकाली नदीमाथी नेपाल–भारत जोड्ने मोटरेबल पुल बन्ने भएको छ।

नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार संयुक्त रुपमा मोटरेबल पुलको शिलान्यास गरेका छन्।

सोमबार पुल निर्माणस्थलमा भारत र नेपालकातर्फबाट संयुक्त रुपमा पुलको शिलान्यास गरिएको मन्त्री बडूका स्वकीय सचिव हेमन्त बिष्टले जानकारी दिए।

यो पुलले महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने छ।

सुदूर पहाडमा महाकाली नदीमाथी बन्ने यो पहिलो मोटरेबल पुल बन्ने छ।

मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले दुइ देशलाई व्यापारिक मार्गमा जोडिने भएकाले स्थानीय, व्यवसायी खुसी भएका छन्।

करिब ३३ लाखको भारतीय लगानी मा निर्माण हुने पुलको लम्बाइ ११० मिटर छ । मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताउँदै यसले सुदूरपहाडको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरे।

दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला पनि भएकोले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय