असोज २,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक पटक पुनः अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएका छन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘अहिलेको समयमा युद्ध उचित नभएको’ प्रतिक्रिया जनाएर युद्ध रोक्ने आशयको सन्देश दिएपछि मोदी अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएका हुन ।
‘अहिलेको समय युद्धको होइन, अहिलेको वैश्विक चिन्ता खाद्य सुरक्षा, इन्धन सुरक्षा र मलको विषय हो,’ उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को बैठकका क्रम मा शुक्रबार पुटिनसँग भएको साइडलाइन वार्तामा मोदीले भने । पुटिनलाई दिएको उक्त सुझावले मोदी भारतमा मात्रै होइन, अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि छाएका छन । बीबीसीका अनुसार सांघाई शिखर सम्मेलनका क्रममा भएको मोदी र पुटिन भेटवार्ता तथा त्यसक्रममा मोदीले दिएको सुझावको सर्वत्र चर्चा पाएको हो । अमेरिकी, रुसी सबैतिरका सञ्चारमाध्यमहरूले दुई नेताबीचको भेटमा मोदीले दिएको सुझावलाई प्राथमिकताका साथ समाचार बनाएको बीबीसीले जनाएको छ ।



शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि उपस्थित थिए । सी र पुटिनबीच पनि भेटवार्ता भएको थियो । त्यहाँ पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफदेखि मध्य एसियाली देश कजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र बैठक आयोजक उज्बेकिस्तानका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी थिए । तर, चर्चा भने मोदीको भयो । चिनियाँ राष्ट्रपति सी र पाकिस्तानी प्रधानमन्त्री सरिफसँग भने मोदीको छुट्टै भेटवार्ता भने भएन । दुवै देशसँग भारतको सीमाका विषयमा तनाव रहँदै आएको छ ।
गत फरवरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणले ७ महिना पुग्नै लागिसकेको भए पनि दुवै देशबीच युद्ध जारी छ । अमेरिका सहित पश्चिमा शक्तिशाली देशहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा मात्रै गरेका छैनन्, रुसमाथि धरै खाले प्रतिबन्धहरू लगाएका छन । पश्चिमा देशहरूको दबाबसामु पनि भारतले रुससँगको आफ्नो सम्बन्ध यथावत् राखेको छ । युद्धको दौरान पनि भारतले रुससँग सस्तो मूल्यमा इन्धन खरिद गर्दै आएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि रुसी राष्ट्रपति पुटिनसँग मोदीको पहिलो भेट सांघाई शिखर सम्मेलनमा भएको हो । त्यस क्रममा उनले पुटिनलाई युद्ध रोक्न दिएको सन्देश महत्त्वपूर्ण मानिएको छ । मोदीको आग्रहपछि पुटिनले आफू युक्रेनसँगको युद्ध छिटो रोक्न हरेक कदम चाल्न तयार रहेको बताएको समाचार पनि बाहिर आएको छ । तर, युक्रेन वार्ताका लागि तयार नभएकाले समस्या आएको पुटिनको भनाइ छ । उनले भारतीय प्रधानमन्त्री मोदीलाई युक्रेनसँग हुने हरेक ‘डेभलपमेन्ट’ बारे जानकारी गराउने आश्वासन समेत दिएका छन । भारतीय मिडियाहरूले मोदी र पुटिनबीचको भेटवार्ता र कुराकानीलाई मुख्य समाचार बनाएका छन । मोदीले पुटिनसँग ‘थ्री डी’ (डेमोक्रेसी, डिप्लोमेसी र डायलग) को उपायबाट शान्तिको बाटो अपनाउन सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।



