चिनियाँ नाका खुल्नेमा अन्योल कायमै, अर्ब बढीको दशैंका सामान बीच सडकमै अलपत्र

२०७९ भाद्र ५, आईतवार
पढ्ने समय : 2 मिनेट

भदौ ५
दशैं–तिहार लगायतका चाडपर्वलाई लक्षित गरी व्यवसायी फुनु शेर्पाले चीनबाट ३ कन्टेनर स्याउ मगाए । सिगात्सेबाट एक सय किलोमिटर अघि बढेपछि उनले मगाएको करिब ४ करोड मूल्य बराबरको स्याउ बोकेका गाडी खासा र केरुङ छुटिने दोबाटो आइनपुग्दै बीच बाटोमै रोकिएका छन् । कोभिड–१९ महामारीको कारण देखाएर नेपाल–चीन स्थलमार्गको रसुवागढी र तातोपानी दुवै नाका एकाएक बन्द भएपछि ती गाडीहरु न अघि बढ्नु न पछि फर्कनुको अवस्थामा रहेको शेर्पाले बताए ।

भोटेकोशी चेम्बर आफ कमर्शका अध्यक्षसमेत रहेका व्यवसायी फुनुकाअनुसार २५ साउनपछि गाडीहरु बाटोमै रोकिए । ‘बाटोमा मेरो मात्रै तीन वटा गाडी रोकिएका छन्, अन्य व्यवसायीका दर्जनौं गाडीहरु बाटोमै रोकिएका छन्,’ उनी भन्छन्, ‘सरासर नेपालतर्फ आउन पाएको भए कम्तीमा १५ दिनमा नेपाल छिर्ने सामान अड्कियो ।’ चीनतर्फ रहेका व्यवसायीहरुसँगको कुराकानीका क्रममा नाका खुल्ने कुनै औपचारिक जानकारी नआएको फुनुले बताए। ।

 

पहिलो पटक तीन दिनका लागि भनेर गरिएको लकडाउन विस्तारै लम्ब्याउँदै लगिएको उनले बताए । ‘फलाम, लत्ता कपडा र मेशिनरीमा त समस्या नहोला तर फलफूल रोकिए पछि चिन्ता बढेको छ,’ फुनु भन्छन्, ‘यस अघि पनि कोरोनाको पहिलो लहरमा फलफूल बिग्रिएको थियो, यो पटक यस्तो नहोस् । सरकारले पहल थालोस् ।’

चीन हुँदै नेपालका लागि व्यापार गर्ने व्यवसायी लाक्पा शेर्पा आगामी सातासम्म नाका खुल्ने आशमा छन् । पछिल्लो पटक तिब्बत क्षेत्रमा ६ साउन (२२ तारिख) सम्मका लागि लकडाउन गरिएको सूचना आएको उनले बताए । लाक्पाले पनि चीनबाट फलफूल मगाएका छन् ।
दशैं र जाडोका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेशिनरी सामान बाटोमा फसेको उनले गुनासो गरे । तत्काल नाका खुल्ने अवस्था नभए यसपटकको दशैं नाका हेरेरै बित्ने उनले बताए । तिब्बत क्षेत्रमा अड्किएका सामान ल्याउन सरकारले सहजीकरण गरिदिनु पर्ने उनको आग्रह थियो ।

नेपाल हिमालयन सीमापार व्यापार संघका अनुसार चीनतर्फ अहिले एक देखि सवा अर्ब रुपैयाँ बराबरको दशैंका माल वस्तु लोड भएको कन्टेनर रोकिएका छन् । व्यवसायीहरुबाट लगत संकलन भइरहेका कारण अहिले करिब १५० हाराहारी कन्टेनर रोकिएको जानकारी आएको व्यवसायी मीनबहादुर श्रेष्ठले बताए । ‘रोकिएका कन्टेनरको यो संख्यामा थोरै घटबढ हुनसक्छ,’ श्रेष्ठ भन्छन्, ‘एउटा गाडीमा एक करोड नेपाली रुपैयाँसम्मको सामान रहेको अनुमान छ ।’

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल का अनुसार नाका सञ्चालनबारे कुनै पनि औपचारिक सूचना स्थानीय स्तरमा आएको छैन । ‘नाका ठप्प छ, अनिश्चतता बढेको छ,’ प्रजिअ खनालले भने, ‘व्यवसायीहरुले नाका खुलाउन पहल गर्नु पर्ने गुनासो गर्न सुरु गरेका छन् ।’

कोरोना परीक्षणका क्रममा संक्रमण झनै बढेको भन्दै अनौपचारिक जानकारी आएको र तीन दिनका दरले लकडाउन बढाउँदै लगिएको पाइएको उनले बताए । नाका कहिले खुल्छ भन्न सकिने अवस्था नै नभएको उनको भनाइ छ ।

रसुवागढी नाका सञ्चालनबारे पनि अन्योल कायमै रहेको छ । नाका खुल्नेबारे अहिलेसम्म चिनियाँ पक्षबाट कुनै जानकारी नआएको रसुवागढी भन्सारका प्रमुख डा.रामप्रसाद मैनालीले बताए । सामान कति संख्यामा चीनतर्फ रोकिएको भन्नेबारे पनि यकिन जानकारी अझै नआइसकेको उनको भनाइ छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार चिनियाँले नाकाबारे थप कुनै जानकारी दिएका छैनन् । ‘दशैंका लागि सामान अर्डर गरेका नेपाली व्यवसायीले सामान रोकिएकोबारे गुनासो गर्न थालेको छन। ’ तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासबाट पनि यसबारे थप सूचना नआएको दुवै तर्फका भन्सार र जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।

यता, परराष्ट्र मन्त्रालयले भने चीनतर्फको नाकाबारे जानकारी नभएको बताएको छ ।
चीनको तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेको भन्दै २१ साउनदेखि रसुवागढी र २५ साउनदेखि तातोपानी नाका सिल गरेको थियो।
कोरोनाका कारण चीनले कडा मापदण्ड लागू गरेका कारण पछिल्लो तीन वर्षदेखि चीन–नेपालबीच स्थलमार्गबाट हुने प्यापार प्रभावित हुँदै गएको छ । तीन वर्षदेखि नेपालले स्थलमार्गबाट नेपाललाई वस्तु निर्यातमा रोक लगाएको छ भने आफ्नो वस्तु निर्यातमा पनि कोटा प्रणाली लागू गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय