चिनियाँ ’नाकाबन्दी’बारे मौनता किन?

२०७९ भाद्र १, बुधबार
पढ्ने समय : 3 मिनेट

भदौ १,
सरकार गठन भएको एक वर्षपछि उत्तरी छिमेकी चीनको तीन दिने औपचारिक उच्चस्तरीय भ्रमण सकेर फर्किएपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले भ्रमण फलदायी भएको दाबी गरे। उनले भने, ’एक चीन नीतिप्रति नेपालको प्रतिबद्धतालाई लिएर चीनले विश्वास गरेको छ। चीनले नेपाललाई विकास निर्माणलगायत आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।’

यद्यपि चीनले २०७६ माघदेखि गर्दै आएको ’अघोषित नाकाबन्दी’ खुलाउन भने आफ्नो भ्रमणका क्रममा कुनै ठोस कदम चाल्न सकेनन् खड्काले। परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्। परराष्ट्रमन्त्रीले पत्रकारसँगको कुराकानीमा सीमा नाकाको विषयमा कुराकानी भएको बताए पनि ठोस उपलब्धि भए–नभएको बारे भने मौन रहे।

परराष्ट्र मन्त्रालयले साउन २६ गते राति जारी गरेको विज्ञप्तिमा भने महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झाग्मु नाका सञ्चालनमा ल्याउने विषयमा सहमति भएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ’दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ। यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा–पुलाङ नाकालाई एकतर्फी रुपमा खोल्ने सहमति भएको छ।’

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले रसुवा–केरुङ नाकाबाट साउन २२ गतेदेखि नै चिनियाँ पक्षले निर्यातमा रोक लगाएको बताएका छन्। उनले भने, ’चिनियाँ पक्षले कोरोना बढेको भन्दै साउन २२ गतेदेखि नै निर्यातमा रोक लगाएको हो। यसबारे हामीलाई म्यासेज पठाएको थियो।’

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु पनि यसबारे अनभिज्ञता प्रकट गर्छन्। मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भन्छन्, ’सरकारलाई नाकाबन्दी कहिलेदेखि गरेको हो, किन गरिएको हो भन्ने विषयमा औपचारिक जानकारी प्राप्त भएको छैन।’ कोरोना महामारीका कारण एक साता बन्द गर्ने भन्ने सुनिएको भए पनि औपचारिक केही खबर नभएको उनले बताए।

गत वर्षको अन्त्यमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच टेलिफोन कुराकानी भएपछि केही सहज बनाइएको बताइए पनि नाका पूर्ण रुपमा खुल्न नपाउँदै फेरि ठप्प पारिएको हो। २०७८ फागुन २३ मा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग करिब एक घण्टा टेलिफोन कुराकानी गरेपछि चीनले नाका केही सहज बनाएको भए पनि पछिल्लो समय फेरि बन्द गरिदिएको हो।
परराष्ट्रमन्त्रीले नाका खुलाउने बताएपछि चीनले २०७८ चैत १ गतेबाट दैनिक १४ कन्टेनर भन्सार पास हुन दिने विषयमा सहमत भएको थियो। यद्यपि चीनले ’अघोषित नाकाबन्दी’ भएको ३० महिना भइसकेको छ। रसुवागढी नाकामा नेपालबाट हुने निर्यात ठप्प भएको त ३० महिना नै भइसकेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय प्रमुख नारद गौतमले जानकारी दिएका छन्। उनले भने, ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ। रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको त ३० महिना नै भइसक्यो। मानिसको आवतजावत पनि बन्द छ।’

नाका खुलाउने सम्बन्धमा यसअघि नै दुई मुलुकबीच पटक–पटक सहमति भए पनि पूर्ण रुपमा नखोल्दै चीनले कोरोनालाई कारण देखाउँदै पूर्ण रुपमा नाका बन्द गरेको हो। तातोपानी नाकामा सन् २०१५ को भूकम्पयता र रसुवागढी नाकामा २०१९ को अन्त्यमा सुरुवात भएको कोभिड–१९ को संक्रमणयता पहिलेको अवस्थामा सुरु हुन सकेका छैनन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले पूर्वजानकारी बिना नाका बन्द हुँदा व्यवसायमा ठूलो असर पर्ने बताएका छन्। उनले भनेका छन्, ’सूचनाबिनै नाका बन्द भएको हो। अनौपचारिक रुपमा १ हप्ताको लागि बन्द भएको भन्ने जानकारी पाएका थियौं। तर, अहिले १० दिन बितिसक्दा पनि नाका खोल्ने विषयमा कुनै जानकारी छैन। चाडपर्व नजिकिएको समयमा भएको नाकाबन्दीले नेपालका व्यवसायीलाई निकै ठूलो अप्ठ्यारो पार्छ।’

दुई महिना लामो बिदा मनाएर साउन १५ गते नेपाल फर्किएकी चिनियाँ राजदूत होउ यान्छी पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छिन्। उनले साउन २० गते गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरिन्। गृहमन्त्रीसँगको भेटको दुई दिनपछि साउन २२ गतेदेखि चीनले नेपालमा नाकाबन्द ग¥यो। गृहमन्त्रीसँगको भेटमा नेपालमा चीनविरुद्ध हुनसक्ने गतिविधि र चिनियाँ सुरक्षा चिन्ताका विषयमा चासो राखेको भए पनि नाकाबन्दीको विषयमा भने केही कुराकानी नभएको बताइएको छ। गृहका एक अधिकारीले भने, ’उक्त भेटमा ताइवान मामिला ताजा भएका कारण नेपालमा चीनविरुद्ध हुनसक्ने गतिविधिका विषयमा चासो राख्नुभएको थियो। नाकाबन्दीको विषयमा केही कुरा भएन।’

चीनले नाकाबन्द गरेको ६ दिनपछि यान्छीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी थिइन्। भेटमा उत्तरी नाका बन्दको विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। तर, यसबारे चिनियाँ दूतावासको भने मौनता नै रहेको छ।
चिनियाँ नाकाबन्दीको विषयमा कुनै पनि राजनीतिक दलहरुले मुख खोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय