भारतको बैंग्लोरदेखि पैदलै मुक्तिनाथ यात्रा

२०७९ श्रावण २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

साउन २०,
भारत बैंग्लोरका एन चन्द्रशेखर सरकारी जागिरे जीवनपछि निवृत्त भए । त्यही फुर्सदिलो जीवनलाई ऊर्जावान् बनाउन पैदल यात्राको योजना बनाए । बैंग्लोरदेखि मुक्तिनाथसम्मको ९ हजार ५ सय किलोमिटर पैदलयात्रा पूरा गरेका उनी बिहीबार पोखरा झरेका छन ।
कोरोना संक्रमणको अन्त्य, नेपाल–भारतका जनताबीच भाइचारा सम्बन्ध स्थापित र धार्मिक यात्रीका रूपमा १९ हजार किमि पैदलयात्रा लक्ष्य राखेको उनले बताए । पोस्ट अफिसर बाट सेवानिवृत्त भएपछि केही समय घरपरिवारलाई दिएपछि उनले यात्राको योजना बनाएका हुन । भारतको कर्नाटक, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, उत्तर प्रदेशसहित नेपालको नेपालगन्ज, लुम्बिनी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ हुँदै मुक्तिनाथसम्म पैदलयात्रा गरिसकेका छन । ‘मेरो यो धार्मिक र सद्भावना यात्रा हो,’ ६७ वर्षीय उनले भने, ‘शिवलिंगहरूको दर्शनलाई पनि यात्रामा जोडेको छु ।’ हरिद्वार, ऋषिकेश, नीलकण्ठजस्ता क्षेत्रको पनि पैदलयात्रा गरिसकेको उनले बताए । भारतकै यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको पनि उनले भ्रमण गरेका छन ।

कर्नाटक राज्य सरकारले उनलाई यात्राको अनुमतिपत्र पनि दिएको छ । उक्त पत्र लिएर यात्रा गर्दा आफूलाई धेरै स्थानमा सहयोग मिलेको उनले बताए ।
हरेक दिन बेलुकी उनले दिनभर यात्रा गरेका स्थानको तस्बिर पत्नी र छोरीलाई पठाउने गरेका छन । अवस्था हेरेर उनी दैनिक २४ देखि ३० किमि हिँड्छज । कुनै दिन ३७ किमिसम्म यात्रा गरेको उनको अनुभव छ । जहाँ पुग्छन्, त्यहाँको भूगोल र भेटेका साथीको तस्बिर कैद गर्छन । ती तस्बिर र अनुभवलाई लेखनमार्फत संग्रह गर्ने पनि उनको चाहना छ ।

मुक्तिनाथदेखि फर्कंदा उनी कोबाङ आएर बास बसे । त्यसपछि दाना हुँदै बेनी आए । मंगलबार बेनीमा बास बसेका उनी बुधवार पैदल २४ किमि यात्रा गरेर पर्वतको कुश्मा पुगे । बिहीबार पोखरा पुगे । अब पोखराको गुप्तेश्वर, गोरखाको मनकामना र काठमाडौंको पशुपतिनाथ दर्शन गर्ने उनको लक्ष्य छ । ‘नेपालका महत्त्वपूर्ण गन्तव्य घुमेपछि पुनः गोरखपुर हुँदै अयोध्या, वाराणसी, झारखण्ड, जगन्नाथ, आन्ध्रप्रदेश, शैलमल्लिकार्जुन, तिरुपति बालाजी भएर रामेश्वरम्बाट पुनः बैंग्लोर पुग्ने ,’ उनले बताए ‘त्यसका लागि अझै ११ महिना समय लाग्छ । सो अवधिमा १० हजार किमि यात्रा हुनेछ ।’

सरकारी सेवाबाहेक आफू भारतको एथलेटिक्स खेलाडी रहेको र एसियाली तथा अन्तर्राष्ट्रिय खेलमा पदकसमेत जितेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय