साउन २
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभव सहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पु¥याउन सफल हुने विश्वास व्यक्त गरेका छन । नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औँ वर्ष मनाइरहेको सन्दर्भ स्मरण गरे ।
त्यस क्रममा उनले नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताका बीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।



भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणको चर्चा गर्दै कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यस विरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामाग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गराएका थिए । लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखेका थिए । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिक रूपमा समाधान खोज्नु पर्नेमा जोड दिए ।



