चिनियाँ टोलीका तीन सदस्य नेपालमै, एमाले–माओवादी कार्यकर्तासँग भेट गरी आज स्वदेश फिर्ता

२०७९ श्रावण १, आईतवार
पढ्ने समय : 3 मिनेट

साउन १

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रमुख लिउ चियानछाओ बुधबार (२९ असार) मै फर्किसके पनि भ्रमण दलका तीन जना सदस्यहरु काठमाडौँमै रहेको खुलेको छ।
गत मे (२०२२) मा अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी प्राप्त गरेपछि पहिलो विदेश भ्रमणका रुपमा चियान्छाओ ७ सदस्यीय टोलीका साथ आइतबार (२६ असार) मा काठमाडौँ आएका थिए।

नेपाल भ्रमणका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) सँग भेट गरेका थिए।

यसबाहेक एमाले र माओवादी केन्द्रका काठमाडौँ जिल्ला कार्यालयमा पुगी अन्तरक्रिया गरेका थिए।

उपरोक्त शीर्षस्तरको भेटघाट र जिल्लास्तरको अन्तरक्रियापछि बुधबार फर्केका लिउलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसको तर्फबाट पूर्वराजदूत डा. दिनेश भट्टराई र एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बुधबार (२९ असार) विदाई गरेका थिए।

सिङ्गापुर एयरलाइन्सको राति १० बजेको उडानबाट लिउ बुधबार साँझ प्रस्थान गरे पनि उनको भ्रमण दलका केही सदस्यहरुले भने एमाले र माओवादी केन्द्रका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका छन्।

विदेश विभाग अन्तर्गत ‘१ नम्बर ब्युरो’ का प्रमुखसहितको टोलीले शुक्रबार (३१ असार) भक्तपुरको चाँगुनारायण पुगेर एमालेका स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेको थियो। त्यसक्रममा टोली नगरकोट क्षेत्रमा पनि पुगेको थियो।

टोलीको सहजीकरणका लागि पूर्वमन्त्री एवं एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेल पनि चाँगुनारायण पुगेका थिए।

एमालेका स्थानीय कमिटीसँगको अन्तरक्रियामा चिनियाँ पक्षले एमालेका स्थानीय पार्टी कमिटीको नेतृत्व कसरी चयन हुन्छ? कमिटीहरु कसरी सञ्चालन हुन्छन? निर्णय कसरी गर्छन? पार्टीको नेतृत्वमा रहेका स्थानीय सरकारका निकायमा पार्टीले कसरी सरकार सञ्चालन गर्छ? विकास निर्माणको काम कसरी सञ्चालन हुन्छ? लगायतका विषयमा जिज्ञासा राखेको थियो।

एमालेसँगको भेटपछि कागेश्वरी मनोहरा नगरपालिका पुगेको चिनियाँ टोलीले माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट र अन्तरक्रियामा पनि उस्तै जिज्ञासा राखेको थियो।

अन्तरक्रियामा चिनियाँ टोलीले आपसी अनुभव आदान–प्रदानले दुवै पार्टीलाई लाभ हुने भए पनि एकले अर्काेको नक्कल गर्न नहुने कुरामा जोड दिएको थियो।

दुवै भेटमा चिनियाँ टोलीले चिनियाँ राष्ट्रपति एवं सीपीसीका महासचिव सी जिनपिङका सम्बोधनहरुको संग्रहको चौथो भाग उपहारस्वरुप प्रदान गरेको थियो।

सो पुस्तक चिनियाँ टोली नेपाल प्रस्थान गर्नुभन्दा ८ दिनअघि मात्र प्रकाशित भएको हो।

चिनियाँ टोलीलाई माओवादी केन्द्रले स्थानीय कार्यकर्ताहरुले कोरेको थाङ्काचित्र र एमालेले चाँगुनारायणको मन्दिरको तस्बिर उपहारका रुपमा प्रदान गरेको थियो।

प्रमुख लिउ फर्के पनि नेपालमै रहेको टोली संलग्न विदेश विभाग अन्तर्गतको १ नं ब्युरोले नेपाल लगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली मामिला हेर्ने गर्छ। यो ब्युरोको जिम्मेवारी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका राजनीतिक पार्टी र संगठनसँगको सम्बन्ध अभिवृद्धि र अनुभव आदानप्रदान र अनुसन्धान योजनाहरु सञ्चालन गर्नु हो।

यो ब्युरोमा लामो समय यस क्षेत्रमा काम गरेका नेपाली, इन्डोनेसियाली, थाई, बर्मेली, हिन्दी, उर्दु, सिंहाली र अंग्रेजी भाषामा पोख्त स्टाफ रहेका छन्।

लिउ फर्केपछिको तीन सदस्यीय टोलीमा सो ब्युरोका प्रमुखका अलावा ‘सरला नेपाली’ नामकी सीपीसी अन्तर्राष्ट्रिय विभागकी नेतृ पनि छन्। चाइना रेडियो इन्टरनेसनल (सीआरआई) अन्तर्गत केही समय नेपालमै रहेर काम गरेकी उनले विश्वभाषा क्याम्पसमा नेपाली भाषा सिकेकी थिइन्।

यो टोली चाइना एयरको उडानबाट आइतबार बिहान चीनको छन्दु प्रस्थान गरेको छ। स्रोतका अनुसार भ्रमण दलमा रहेका सातमध्ये चार सदस्यका साथ बुधबार (२९ असार) साँझ सिङ्गापुर एयरको उडानबाट प्रस्थान गरेका विदेश विभाग प्रमुख लिउ सिङ्गापुर हुँदै भियतनाम पुगेका छन्।

दक्षिणपूर्वी एसियामै पर्ने भियतनाम पनि कम्युनिस्ट मुलुक हो। भियतनाम मामिला ‘सीपीसी’ अन्तर्राष्ट्रिय विभागको २ नं ब्युरोले हेर्दै आएको छ।

नेपाल आउनुभन्दा दुई हप्ताअघि विदेश विभाग प्रमुख लिउले एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अलावा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भिडिओ वार्ता गरेजस्तै २२ असारमा भियतनामी कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख ली होइ ट्रुङ्गसँग पनि वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय