चीनसँगका व्यापारिक मार्ग खुलाउने सहमति

२०७९ असार ३२, शनिबार
पढ्ने समय : < 1 मिनेट

असार ३२,
नेपाल–चीन सीमासम्बन्धी परामर्श संयन्त्रको बैठकले दुईदेशीय सीमा व्यवस्थापनसँगै व्यापारिक मार्ग सञ्चालन गर्ने सहमति गरेको छ। बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदानप्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार भर्चुअल रूपमा भएको बैठकमा नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्त्वलाई जोड दिँदै विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका छन्।

कोभिडको स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै रसुवागढी–केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न नेपाल–चीन दुवै पक्षले बैठकमा सहमति जनाएका छन्। यसका लागि दुवै पक्षले सीमा क्षेत्रमा महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गरेर प्रक्रिया अघि बढाउनेछन्।

नेपालको उत्तरी हिमाली क्षेत्रका नागरिकको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले दुवै पक्षले कोभिड–१९ स्वास्थ्य सुरक्षाका लागि आवश्यक नियम लागू गरी चीनबाट आउने सामान र निर्माण सामाग्रीको ढुवानीका लागि हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय भएको मन्त्रालयले उल्लेख गरेको छ।

परराष्ट्र मन्त्रालयस्थित पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डल र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी, बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत र ल्हासास्थित नेपाली महावाणिज्य दूत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय