असार ३२
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उनीहरुबीच शिष्टाचार भेट भएको हो।
भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गरेका छन ।



अध्यक्ष तिमिल्सनाले नेपाल–भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल–भारत छिमेकी राष्ट्रमात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’
छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ (छिमेक पहिलो) अन्तर्गत छिमेकीहरुसँगको सम्बन्धलाई विशेष महत्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गरेका छन।
‘नेपाल र भारतबीचको बहुआयामिक एवं गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्रथामिकता दिइरहेको छ,’ उनले भने, ‘त्यसको उदाहरणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई प्रथामिकता दिएर पाँचपटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नुभएको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्।’
अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सीमा क्षेत्रमा वर्षेनी बाढी र डुबान का कारण जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरुको कार्यान्वयनमा जोड दिए।
भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिकलगायत विभिन्न क्षेत्रमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे।
उनले दुई देशका संसदबीचको सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल–भारत संसदीय मैत्री समूह रहेको र यसबाट दुई देशका संसदबीच सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राखे।
अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्यसभाका सभापति वेनकाय नायडुको सुस्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गरे। साथै सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रणसमेत गरे।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुत बनाउन भूमिका खेल्ने उल्लेख गरे।
साथै उनले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुत र विस्तार गर्नुपर्ने उल्लेख गरे। राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राखेका थिए ।



