असार २८
यतिखेर चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौंमा छन् ।
४ दिने नेपाल भ्रमणमा आएका उनले राजनीतिक भेटघाट गरिरहेका छन् । तर चिनियाँ सत्तारुढ पार्टीका उच्च नेता तथा सरकारकै वरिष्ठ मन्त्रीस्तरका नेताको भ्रमणमा राजदूत साथमा छैनन् । यसअघि हरेक पटकका भिजिटमा राजदूत सँगै हुन्थे ।



तर यसपालि राजदूत नहुँदा सीपीसी विदेश विभाग प्रमुख लिउको प्रतिनिधिमण्डललाई भेटघाटमा सकस परेको छ । पार्टी तहको भेटघाट भएकाले यसमा परराष्ट्र मन्त्रालय संलग्न छैन । आफ्नै हिसाबले भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डल छ । तर राजदूत नहुँदा प्रतिनिधिमण्डललाई भेटघाटमा अफ्ठेरो परेको छ ।
हुन त चिनियाँ दूतावासका कर्मचारी खटिएका छन् तर राजदूतजस्तो ओहदाको व्यक्ति हुँदा त्यसको महत्त्व छुट्टै हुन्छ । विदेश विभाग प्रमुख लिउ आइतबार बेइजिङबाट काठमाडौं प्रस्थान गर्दा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बेइजिङमै थिइन् । यान्छी कसैलाई जानकारी नदिएर डेढ महिनादेखि काठमाडौंबाट गायब भएर बेइजिङमा बसिरहेकी छन् ।
आफ्नो कार्यकालमा चरम असफलता, चिनियाँ भूमिका कमजोर हुनुले उनले केही समय यता नेपाल छोडेकी छन् । बेइजिङमै भएकाले लिउको प्रतिनिधिमण्डलले यान्छीलाई साथमै लिएर आउन सक्थ्यो । तर चौतर्फी असफलताले नेपालबाट भागेर बेइजिङ पुगेकी यान्छी काठमाडौं आउन मानिनन् ।
चिनियाँ दूतावास स्रोतकाअनुसार यान्छी नआएपछि भेटघाटमा विदेश विभाग प्रमुख लिउ आफैले प्रोटोकलबाट तल झरेर आफै चाजोपाजो मिलाएका हुन् । उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, एमाले र माओवादी अध्यक्ष, राष्ट्रपतिलाई भेट्ने समय मिलाएका छन् ।
तर लिउ ले प्रधानमन्त्रीलाई भेट्दा बालुवाटारमा असहजता महसुस गरिरहेकोे सहभागी एक नेपाली अधिकारीले जानकारी दिए ।



